
काठमाडौं । व्यवसायी दीपक भट्टसँगको साझेदारीमा विभिन्न कम्पनीमा गरेको सेयर लगानीलाई लिएर सार्वजनिक भएका विवाद र प्रश्नहरूबारे गृहमन्त्री सुधन गुरूङले स्पष्टीकरण दिएका छन् । आफूमाथि लागेका आरोपहरूलाई तथ्यहीन भन्दै उहाँले ती विषयलाई सरल भाषामा स्पष्ट पार्ने प्रयास गरेका हुन् ।
‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपको खण्डन गर्दै उनले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको धितोपत्र लगानी स्पष्ट उल्लेख गरिएको बताएका छन्।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही २ करोडको समूहभित्रै पर्ने उनको दाबी छ । उनले भनेका छन्, ‘लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्दैन । यो लुकाउने विषय नभएर वर्गीकरणको मात्र कुरा हो ।’
मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको स्पष्ट पार्दै उनले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको उल्लेख गरेका छन् । लगानीको स्रोतबारे प्रश्न उठेपछि उनले वि.सं. २०८०/०५/२९ को लिखित तमसुकमार्फत ऋण (कर्जा) लिएर सो रकम जुटाइएको र त्यसको पूर्ण रेकर्ड बैंकमा सुरक्षित रहेको जानकारी दिएका छन् ।

विवादास्पद व्यक्ति व्यवसायी दीपक भट्टसँगको साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले कुनै पनि कम्पनीको सेयरधनी हुनु भनेको त्यहाँका सबै हजारौं सेयरहोल्डरहरूसँग व्यक्तिगत साझेदारी नगरेको तर्क गरेका छन् । ‘यदि सेयरहोल्डर हुनु नै दोषी हुनु हो भने सोही कम्पनीमा लगानी गर्ने बैंक र मिडिया हाउसहरूलाई पनि सोही नजरले हेर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।
साथै, स्वार्थको द्वन्द्वबारे उठेका प्रश्नमा उनले यसको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको बताए । प्रक्रिया अवरुद्ध नभएको र छानबिन चलिरहेकाले आफूले कुनै हस्तक्षेप नगरेको उनको जिकिर छ ।
आफूविरुद्ध भएका प्रचारहरूलाई ‘सुविधा अनुसारको व्याख्या’ भन्दै उनले हल्लाको पछि नलाग्न आग्रह गरे । व्यापारिक लगानीमा भविष्यको जोखिम पूर्वानुमान गर्न नसकिने भन्दै उनले पछि हुने घटनालाई अघि गरिएको निर्णयको दोष मान्न नसकिने बताए ।
उनले पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सघाउन आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु । सहिदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म बुझेर हामी हल्लामा होइन, प्रमाणमा उभिनुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत् दिएको स्पष्टीकरणमा उल्लेख छ ।
के हो घटना ?
सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र गृहमन्त्री गुरूङबीच व्यावसायिक साझेदारी रहेको देखिएको थियो । भट्टको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीमा गृहमन्त्री गुरूङको ठूलो हिस्सा सेयर रहेको पाइएको हो । तर, उनले यसलाई गृहमन्त्री नियुक्त भएपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने देखाएका थिएननन् ।
धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका छन् । तर, उनले कुन कम्पनीमा कति लगानी रहेको छ भन्ने विवरण खुलाएका थिएनन् ।
गृहमन्त्रीमा नियुक्त हुनुभन्दा अगाडि उनले दोस्रो बजारबाट लगातार सेयर किनेको पाइएको हो । यस्तै दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीको संस्थापक सेयरधनी समेत रहेको खुलेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर लगतमा गृहमन्त्री गुरूङको नाममा २५ लाख रूपैयाँ बराबरको २५ हजार कित्ता संस्थापक सेयर रहेको देखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको ४९औं नम्बरमा गोरखा, चुमनुब्री–२ स्थायी ठेगाना भएका सुधन गुरूङको नाम उल्लेख छ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी दीपक भट्टको कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ की प्रतिनिधि प्रजुनी बज्राचार्य समेत रहेकी छन् । कम्पनीको मुख्य लगानीकर्तामा शंकर ग्रुपको नियन्त्रण रहेको हिमालखबरले प्रकाशित एक रिपोर्टमा उल्लेख छ । कम्पनीको मुख्य लगानीकर्ता लोबुचे इन्भेष्टमेन्ट कम्पनी र घान्द्रुक इन्भेष्टमेन्ट कम्पनी दुवै शंकर समूहकै रहेको हिमालखबरको रिपोर्टमा उल्लेख छ । यी २ कम्पनीको मात्रै ३० प्रतिशत सेयर स्वामित्व छ । यस कम्पनीमा कविता लोहियाको ५ लाख कित्ता र ओपी होल्डिङ्सको ५ लाख कित्ता सेयर रहेको छ ।
यसबाहेक शंकर ग्रुपकै जगदम्बा इन्टरप्राइजेजको पनि कम्पनीमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ ।
यस्तै गुरूङले भट्टकै प्रभावमा लाइसेन्स पाएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा पनि गुरूङको २५ हजार कित्ता संस्थापक सेयर रहेको सेयर लगतले देखाउँछ । हिमालखबरमा प्रकाशित रिपोर्टअनुसार यस कम्पनीमा पनि शंकर समूहको लाङटाङ इन्भेष्टमेन्ट कम्पनीको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत र पाल्दोर इन्भेष्टमेन्टको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत सेयर हिस्सा रहेको छ । कविता लोहियाको ६ लाख कित्ता र ओपी होल्डिङ्सको पनि ५ लाख कित्ता नै सेयर रहेको छ ।
गृहमन्त्री गुरूङले एक साताअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी दुई कम्पनीमा रहेको ५० हजार कित्ता सेयरबारेको विवरण उल्लेख छैन । उनले धितोपत्र बजारमा २ करोड ७४ लाख रूपैयाँको सेयर रहेको दाबी गरे पनि अनुसन्धानमा तानिएका सुलभ अग्रवाल र दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका कम्पनीमा गृहमन्त्री गुरूङ साझेदारको रूपमा भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्दा उक्त तथ्यलाई लुकाएको देखिन्छ ।
उनले ‘जेनजी’ आन्दोलनपछि र मन्त्री नियुक्त हुनुभन्दा ठीक अघिको अवधिमा दोस्रो बजारमा निकै सक्रिय भएर सेयर खरिद गरेको देखिन्छ । उनले २०८२ माघ १५ देखि चैत ८ गतेसम्मको अवधिमा दोस्रो बजारमा ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर खरिद गरेको पाइएको छ । उनले सबै सेयर ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेड’ को मात्र खरिद गरेका हुन् । यसअघि दोस्रो बजारमा कहिल्यै कारोबार नगरेका गुरूङले मन्त्री बन्नुभन्दा अगाडि सेयर खरिद गर्नु र सम्पत्ति विवरणमा नखुलाउनुलाई अर्थपूर्ण र शंकाको दृष्टिकोणले समेत हेरिएको छ ।
गृहमन्त्री गुरूङ र हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टबीचको सम्बन्ध पुरानो हो । गुरूङ आफैं सञ्चालक रहेको ‘हामी नेपाली’ संस्थामा भट्ट र शंकर समूहका सञ्चालकहरू सुलभ र साहिल अग्रवालले आर्थिक सहयोग गर्ने गरेको देखिन्छ ।
हाल दीपक भट्टले भृकुटी स्टक ब्रोकरमार्फत् उधारोमा सेयर किनेको र सम्पत्ति शुद्धीकरणको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । भट्टसँगै सुलभ अग्रवालमाथि पनि अनुसन्धान भइरहँदा गृहमन्त्री गुरूङको उनै भट्ट र अग्रवालसँग व्यावसायिक सम्बन्ध रहेको देखिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहँदा, देशको शान्ति सुरक्षा र अनुसन्धानको कमान्ड सम्हाल्ने गृहमन्त्री नै उनीसँगको व्यावसायिक साझेदारीमा संलग्न हुनुले ‘स्वार्थको द्वन्द्व’ पैदा गरेको छ ।








प्रतिक्रिया