
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा घोषणा गरेका छन् । श्रेष्ठले शुक्रबार बसेको बोर्डको सञ्चालक समिति बैठकमा अध्यक्ष पदबाट राजीनामाको घोषणा गर्दै अहिलेसम्म सहयोग गरेकोमा सबैलाई धन्यवाद दिँदै बिदा भएका छन् ।
बैठकमा सहभागी बोर्डका एक सञ्चालकका अनुसार अध्यक्ष श्रेष्ठले आफूले पदबाट राजीनामा दिन लागेको जानकारी गराएको क्लिकमान्डुलाई बताए । उनका अनुसार अध्यक्ष श्रेष्ठले मन्त्रालयमा राजीनामा बुझाएका छन् ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभिन्न सार्वजनिक कम्पनीको रकम दुरुपयोग गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको शृङ्खलामा बोर्ड अध्यक्षमाथि पनि अनुसन्धान हुने सम्भावना देखिएपछि उनले राजीनामा दिएर मार्गप्रशस्त गरेका हुन् ।
सञ्चालक समिति समक्ष श्रेष्ठले रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरूले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेकाले आफूले त्यसको सम्मान गर्दै राजीनामा दिने निर्णयमा पुगेको बताएका छन् ।
श्रेष्ठलाई तत्कालीन केपी ओलीको सरकारले २०८१ मंसिर तेस्रो साता बोर्ड अध्यक्षमा नियुक्ति गरेको थियो । दीपक भट्टको जोडबलमा नियुक्ति भएको भन्दै उनको आलोचना हुने गरेको थियो ।










प्रतिक्रिया