सस्मितको स्पष्टीकरणः प्रभिलेज्ड परिवारबाट आएको हुँ, व्यक्तिगत सुरक्षाका कारण प्यान उल्लेख गरिनँ

651
Shares

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो र आफ्नो परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शिता र सुशासनप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् । सम्पत्ति विवरणमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी बुबाले आर्जन गरेको सम्पत्तिसमेत देखाएपछि आलोचना खेपेका पोखरेलले स्पष्टीकरण दिएका हुन् ।

आफू त्रिभुवन विश्वविद्यालयमा ‘सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको विद्यार्थीसमेत रहेको भन्दै पोखरेलले भ्रष्टाचार निवारणका लागि ‘पारदर्शिता’ सबैभन्दा शक्तिशाली अस्त्र भएको उल्लेख गर्दै स्वेच्छिक रूपमा विस्तृत विवरण बाहिर ल्याएको बताएका हुन् ।

प्रचलित कानुनी प्रावधानअनुसार व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्याप्त भए तापनि मन्त्री पोखरेलले पूर्ण पारदर्शिताको अभ्यासका लागि आफ्नो व्यक्तिगत विवरण मात्र नभई बुवा, आमा र मावली पक्षको समेत सम्पत्ति सार्वजनिक गरेको दाबी गरेका छन् । उनले आफ्ना बुवाको सवारीसाधनको विवरणसमेत स्पष्टीकरणमा समावेश गरेका छन् । ‘मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमान्दार मेहनतको कमाइ हुन्,’ उनले भनेका छन् ।

आफ्नो आर्थिक पृष्ठभूमिका बारेमा प्रष्ट पार्दै मन्त्री पोखरेलले आफ्ना बुवा नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेको र अन्तर्राष्ट्रिय मुद्रा कोष, वाशिङ्टन डी.सी. मा कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा समेत कार्य गरेको जानकारी दिएका छन् । बुवाको उच्च नैतिकता र इमान्दारिता नै आफ्नो मार्गदर्शक रहेको उनको भनाई छ ।

काठमाडौंमा रहेको जग्गाको विषयमा उठ्न सक्ने प्रश्नलाई सम्बोधन गर्दै उनले खरिदको समयमा मूल्य निकै कम रहेको तर हाल बजार प्रवृत्तिका कारण मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको बताएका छन् । उनले सरकारी वा खरिद मूल्य नभई हालको चलनचल्तीको बजार मूल्य नै विवरणमा उल्लेख गरेको स्पष्ट पारेका छन् ।

आफूलाई ‘सुविधाभोगी’ (प्रिभिलेज्ड) पृष्ठभूमिबाट आएको स्वीकार गर्दै मन्त्री पोखरेलले स्नातक दोस्रो वर्षदेखि नै पार्ट-टाइम अनलाइन काम गरेर आफ्नो खर्च आफैंले धान्दै आएको दाबी गरेका छन् । विवरणमा देखिएको ऋणसमेत बुवा-आमाको सहयोगविना आफ्नै आम्दानीबाट गाडी खरिद गर्नका लागि लिएको उनले उल्लेख गरेका छन् ।

व्यक्तिगत सुरक्षाका कारण सार्वजनिक विवरणमा मात्र स्थायी लेखा नम्बर (प्यान) नम्बर समावेश नगरेको तर आफूसँग वैध प्यान नम्बर रहेको उनले प्रष्ट पारेका छन् । ‘तर उक्त सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्ने योजना भएकाले व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेको हुँ,’ उनले भनेका छन् ।

शिक्षामन्त्री पोखरेलले पारदर्शितालाई केवल शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले काठमाडौंमा ४ करोडको घर र विभिन्न स्थानमा करिब १५ करोड बराबरको जग्गा जमिनको धनी रहेको विवरण बुझाएका थिए । तर, उनले आफूले सम्पत्ति आर्जन गर्ने आधार अर्थात् प्यान नम्बर नै प्रस्तुत गरेका थिएनन् । प्रधानमन्त्री बालेन शाह लगायतले प्यान नम्बर सार्वजनिक गर्दा सस्मितले भने व्यक्तिगत सुरक्षाका कारण प्यान नम्बर समावेश नगरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको विवरण अनुसार, मन्त्री पोखरेलको अधिकांश सम्पत्तिको स्रोत उनका बुबा रमेशकुमार पोखरेलले नेपाल राष्ट्र बैंकमा गरेको जागिर र पैतृक सम्पत्ति देखिएको छ ।

सार्वजनिक विवरण अनुसार पोखरेल परिवारको नाममा काठमाडौं र ललितपुरका विभिन्न स्थानमा महँगा घर र जग्गाहरू रहेका छन् । मन्त्रीकी आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंको सुकेधारामा ४ करोड र मुलपानीमा ५ करोड बराबरको दुई वटा घरहरू छन् ।

त्यसैगरी बुबा रमेशकुमार पोखरेलको नाममा काठमाडौँको सुकेधारामा २.५ करोड र मोरङको विराटनगरमा १ करोड मूल्य पर्ने जग्गा रहेको छ । ललितपुरको गोदावरी र काठमाडौंको गोकर्णेश्वरमा पनि मन्त्रीकी आमा र परिवारको नाममा करोडौँ मूल्यका जग्गाहरू रहेका छन् । विवरणमा गोदावरीमा रहेको एउटा कित्ता जग्गाको मात्रै अनुमानित मूल्य ५ करोड उल्लेख गरिएको छ ।

मन्त्री पोखरेलको परिवारसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको छ, जसको हालको बजार मूल्य करिब ७५ लाख रुपैयाँ अनुमान गरिएको छ । बैंक मौज्दातको कुरा गर्दा मन्त्री सस्मितको नाममा सानिमा बैंक र एनआईसी एसिया बैंकमा गरी करिब ४ लाख ४७ हजार रुपैयाँ र ५ अमेरिकी डलर मात्र नगद रहेको देखिएको छ ।

पोखरेल परिवारले सेयर र सरकारी बचत पत्रमा पनि ठूलो लगानी गरेको पाइएको छ । बुबा रमेशकुमार र आमा मिनाक्षीको नाममा १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचतपत्र रहेको छ । यस्तै, सानिमा क्यापिटल र अन्य कम्पनीहरूमा गरी करिब ३० लाख रुपैयाँको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । यो सबै लगानीको स्रोत बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा पाएको रकम र पारिश्रमिकलाई देखाइएको छ ।

सवारी साधनतर्फ यो परिवारसँग दुई वटा इलेक्ट्रिक कारहरू रहेका छन् । बुबा रमेशकुमारको नाममा ७० लाख मूल्यको ‘किया निरो’ र मन्त्री सस्मितको नाममा ३९ लाख ६५ हजार मूल्यको ‘बीवाइडी डल्फिन’ कार रहेको छ ।

सम्पत्तिसँगै मन्त्री पोखरेलको परिवारमा ७५ लाख रुपैयाँ ऋण पनि देखिएको छ । मन्त्री सस्मितले गाडी किन्न हिमालयन बैंकबाट २५ लाख र उनकी आमाले माछापुच्छ्रे बैंकबाट ५० लाख ओभरड्राफ्ट कर्जा लिएका छन् ।

मन्त्री पोखरेलले बुझाएको विवरण अनुसार उनको परिवारको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ रहेको छ । ऋण कटाउँदा उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रुपैयाँ कायम हुन्छ । विवरणमा उल्लेख गरिएका अधिकांश स्थिर र चल सम्पत्तिको मुख्य स्रोत बुबाको नेपाल राष्ट्र बैंकको जागिर, पारिश्रमिक, सुविधा र पैतृक सम्पत्तिलाई नै आधार मानिएको छ ।

पोखरेलका बुबा अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत कार्यरत रहेको र त्यहाँबाट प्राप्त पारिश्रमिक र सुविधाले पनि जग्गा खरिद गरिएको खुलाइएको छ । सस्मितले अमेरिकामै अध्ययन गरेका थिए ।

सस्मितका बुबाले नेपाल राष्ट्र बैंकबाट अवकास हुँदा (रिटायर हुँदा) एकमुस्ट प्राप्त गरेको रकमलाई लगानीको स्रोत बनाइएको छ । झन्डै १ करोड ४७ लाख बराबरको राष्ट्रिय बचत पत्र खरिद गर्न बुबाले राष्ट्र बैंकबाट अवकास हुँदा पाएको रकम (निवृत्त हुँदा प्राप्त रकम) प्रयोग गरिएको कैफियतमा उल्लेख छ । सेयर लगानी पनि पारिश्रमिक र सुविधाबाट प्राथमिक बजार मार्फत गरिएको उल्लेख छ ।

विवरणमा धेरै ठाउँमा ‘हाल मूल्य वृद्धि भएको’ भनी उल्लेख गरिएको थियो ।

मन्त्री सस्मित पोखरेलले चढ्ने बीवाइडी डल्फिन कार हिमालयन बैंकबाट २५ लाख ‘हायर पर्चेज’ कर्जा लिएर किनिएको हो । आमा मिनाक्षी ओझाको नाममा माछापुच्छ्रे बैंकबाट ५० लाख रुपैयाँ ओभरड्राफ्ट कर्जा लिएको देखिन्छ ।

बुबा राष्ट्र बैंकको हाकिम भएका कारण उनले सानैदेखि प्रिभिलेज पाएको चर्चा चलेको थियो । उनले सामाजिक सञ्जालमा स्पष्टीकरण लेख्दै आफूले स्पष्टीकरण पाएको स्वीकारेका हुन् ।