ओलीको अप्रेशन सकियो, पित्तथैलीमा रहेको पत्थरी निकालियो

0
Shares

फाइल तस्बिर

काठमाडौं । एमाले अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन सकिएको छ ।

सोमबार त्रिवि शिक्षण अस्पतालमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन गरिएको हो । चिकित्सकका अनुसार ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको थियो ।

उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डमा सार्ने तयारी भइरहेको छ ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलन दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेकै दिनदेखि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको गिरफ्तारीपछि पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैतमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र सक्न आदेश दिएको थियो । तोकिएको समयभित्र अनुसन्धान नसकिए शर्तसहित रिहा गर्न पनि अदालतले निर्देशन दिएको थियो ।

सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नीको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक रहेकाले उनी अस्पतालमै उपचाररत रहेका थिए ।