डलरको प्रभाव कमजोर हुँदैछ कि पुनः शक्तिशाली बन्दैछ?


काठमाडौं । उन्नाईसौं शताब्दीको मध्यतिर बेलायतका प्रख्यात लेखक रुडयार्ड किपलिङले मध्य एसियामा बेलायती र रुसी साम्राज्यहरूबीचको छायाँ युद्धलाई वर्णन गर्न द ग्रेट गेम शब्दावलिको उपयोग गरेका थिए ।

वेलिङटन–अल्टस कम्पनीका प्रमुख बजार रणनीतिकार जेम्स थर्नले अप्रिल २०२६ को बजार विश्लेषण ‘ब्रेटन वूड्स २.०, द न्यु ग्रेट गेम, एन्ड ट्रम्प: हेयर बिगिन्स द ग्रेट गेम’ मा संसार त्यस्तै खेलको दोस्रो शृंखलामा प्रवेश गरेको तर्क गरेका छन् ।

थर्नले विचारोत्तेजक अवधारणा राखेका छन् । अमेरिकाको पतन भइरहेको र अन्य मुद्राले डलरको विस्थापन गरिरहेको चर्चाको विपरीत संसारले ब्रेटन वूड्सको दोस्रो संस्करणको जन्म देखिरहेको उनी लेख्छन् ।

उनका अनुसार, यो सन् १९४४ को जस्तो कुनै अन्तर्राष्ट्रिय सहमतिको परिणाम नभई अमेरिकी प्रभुत्वको एकपक्षीय र आक्रामक पुनःस्थापना हो । ऊर्जा, कृत्रिम बुद्धिमत्ता (एआई) र नयाँ डिजिटल वित्तीय पाइपलाइन उपयोग गरेर अमेरिकाले विश्व अर्थतन्त्रका नियमहरू पुनः लेख्दैछ ।

ब्रेटन वूड्स प्रणाली एउटा साधारण मान्यतामा आधारित थियो । अमेरिकाले सुन र औद्योगिक उत्पादन नियन्त्रण गर्थ्यो र त्यसको बदलामा सुरक्षा र बजार पहुँच पाउने शर्तमा विश्वले डलर प्रयोग गर्थ्यो ।

सन् १९७१ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको निर्देशनमा सुनसँग डलरको सम्बन्ध टुटेपछि यो प्रणाली पेट्रोडलरमा परिवर्तन भयो । अर्थात्, तेलको मूल्य डलरमा तोकिने र ती डलरहरू पुनः अमेरिकी ट्रेजरीमा लगानी हुने व्यवस्था भयो ।

थर्नका अनुसार, ब्रेटन वूड्स २.० संकट र सफ्टवेयर अपग्रेड मार्फत आइपुगेको छ । यस नयाँ युगमा अमेरिकाले ब्रिक्स ब्लक (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका र नयाँ सदस्यहरू) को मौद्रिक महत्त्वाकांक्षालाई समाप्त पार्ने रणनीति लिएको छ । डलरको असाधारण विशेषाधिकारलाई अभेद्य डिजिटल किल्लामा बदल्नु उक्त रणनीति हो ।

यस नयाँ व्यवस्थाको पहिलो स्तम्भ ऊर्जा नियन्त्रण हो । वाशिङटनले आफ्ना छिमेकीहरूलाई हेर्ने दृष्टिकोणमा आएको परिवर्तनलाई थर्नले स्पष्ट पारेका छन् । दशकौंसम्म क्यानडाले उत्तर अमेरिकी खुला व्यापार सम्झौता नाफ्टाको ‘समानुपातिकता खण्ड’ (प्रोपर्सनालिटी क्लज) अन्तर्गत काम गरेको थियो । त्यसले अमेरिकालाई क्यानडाको ऊर्जाको निश्चित हिस्सा सुनिश्चित गरेको थियो । तर, त्यो खण्ड आधिकारिक रूपमा हटाइएको भए पनि थर्नका अनुसार यसलाई महादेशीय सुरक्षाको नाममा पुनः निर्माण गरिँदैछ ।

यस संरचनामा क्यानडाका विशाल स्रोतहरू युरेनियम, पोटास र महत्त्वपूर्ण खनिजहरू वाशिङटनद्वारा व्यवस्थित ‘पहिलो प्राथमिकता’ को शासनभित्र ल्याइँदैछ । यसले उत्तर अमेरिकालाई युरेसियाली संकटहरूबाट सुरक्षित रहने ऊर्जा किल्ला बनाउँछ ।

त्यसभन्दा बढी महत्त्वपूर्ण पक्ष भेनेजुएलातर्फको मोड हो । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिकामा मुद्दा चलाएपछि आफूअनुकूलकी डेल्सी रोड्रिगेजलाई उपयोग गरेर अमेरिकाले भेनेजुएलाको तेललाई चीनको पकडबाट निकालेर अमेरिकी प्रभावको संरचनामा ल्याइसकेको छ ।

यस अवस्थामा चीनले सस्तो तेलको एक महत्त्वपूर्ण स्रोत गुमाएको छ र अमेरिकाले विश्वव्यापी ऊर्जा मूल्यलाई डलरमा अझ बलियोसँग बाँध्नेछ । चीनका लागि सस्तो तेलको स्रोत रहेको इरानमाथि आक्रमण गरेर त्यो प्रवाहलाई अमेरिकाले कटौती गर्न खोजेको छ ।

यो सन् २०२४ को अन्त्य र सन् २०२५ को सुरुतिर देखिएका प्रवृत्तिहरूसँग मिल्दोजुल्दो छ जहाँ अमेरिकाको ऊर्जा उत्पादनले रेकर्ड स्तर (दैनिक १ करोड ३० लाख ब्यारल भन्दा बढी) कायम गरेको छ । अमेरिकी विदेश नीतिको एक प्रमुख स्तम्भका रूपमा ‘ऊर्जा प्रभुत्व’ स्थापित भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) को वर्ल्ड इनर्जी आउटलुकले अमेरिका ऊर्जाको शुद्ध निर्यातक र युरोपको प्राथमिक एलएनजी आपूर्तिकर्ता बनेको तथ्यांकले ऊर्जा प्रभुत्वको स्तम्भलाई पुष्टि गर्छ ।

डिजिटल सम्पत्तिको भूमिका थर्नको विश्लेषणको सबैभन्दा विवादास्पद पक्ष हो । वर्षौंसम्म बिटकोइनलाई डलर प्रणालीबाट बाहिरिने साधनका रूपमा हेरिएको थियो । तर, थर्नका अनुसार अमेरिकाले अहिले यसको उल्टो काम गरिरहेको छ । उसले डलरलाई अझ बलियो बनाउन प्रविधिको उपयोग गरिरहेको छ ।

यस अन्तर्गत डलरको समर्थन प्राप्त स्टेबलकोइनहरूले कारोबार गरिरहेका छन् । यस्ता कोइनले डिजिटल पाइपको रूपमा काम गर्छन् । यसले डलरलाई सबै समयका लागि उपलब्ध गराउँछ ।

अमेरिकी ऋणलाई ब्लकचेनमा राखेर ट्रेजरी डिपार्टमेन्टले आफ्ना सम्पत्तिहरूलाई कुनै पनि प्रतिद्वन्द्वी मुद्राको तुलनामा अझ बढी तरल र सुलभ बनाएको छ ।

अमेरिकाले बिटकोइनलाई खतराको रूपमा नभई नयाँ प्रणालीका लागि उच्च–जोखिम तर उच्च–प्रतिफलको विकल्पको रूपमा व्यवहार गर्न सक्ने थर्नको अनुमान छ । सुनसँगै बिटकोइनलाई पनि भण्डारण गरेर अमेरिकाले ‘हार्ड मनी’ का आलोचकहरूको कुरा सुनेको संकेत दिएको छ तर डलरलाई नै केन्द्रमा राखेको छ ।

सन् २०२४ को अन्त्यमा अमेरिकी सांसद सिनेटर सिन्थिया लुमिसले बिटकोइन एक्ट पेश गरेपछि यस अवधारणाले थप चर्चा पायो । १० लाख बिटकोइनको संघीय स्तरमा ‘रणनीतिक बिटकोइन रिजर्भ’ स्थापना गर्ने प्रस्तावले डिजिटल सम्पत्तिहरू डलरलाई विस्थापन गर्न नभई थप स्थिर बनाउन प्रयोग गरिने थर्नको भविष्यवाणीलाई पुष्टि गर्छ ।

चेनलाइसिसको स्टेट अफ क्रिप्टो रिपोर्टको पछिल्लो तथ्यांकले देखाएअनुसार, ९० प्रतिशतभन्दा बढी स्टेबलकोइन कारोबारहरू अमेरिकी डलरमा आधारित छन् । डिजिटल सम्पत्तिले डलरको आधिपत्य घटाउनुको सट्टा झन् विस्तार गरिरहेको यसले देखाउँछ ।

परम्परागत लगानीका उपायहरू अब पुराना भएका छन् । हामी साँच्चै बलियो डलरको युगमा छौं भने लगानीकर्ताहरूले आफ्नो लगानी रणनीतिमा पुनर्विचार गर्नुपर्छ

ब्रिक्स ब्लकले डलरको प्रतिद्वन्द्वी मुद्रा बनाउने क्षमताप्रति थर्न संशय गर्छन् । यो समूह आफ्नै विरोधाभासहरूले दबिएको उनको तर्क छ । उनका अनुसार, भारत र चीन रणनीतिक प्रतिद्वन्द्वी हुन् । खाडी मुलुकहरू सुरक्षाका लागि अमेरिकामाथि निर्भर छन् । ब्राजिल तथा दक्षिण अफ्रिका आन्तरिक रूपमा कमजोर छन् । त्यसैले उनीहरू एक ढिक्का भएर अमेरिकाविरुद्ध काम गर्न सक्दैनन् ।

बहुध्रुवीय विश्वको साटो थर्नले अमेरिका र चीनबीचको दुईध्रुवीय प्रतिस्पर्धा भइरहेको देखेका छन् । यो ‘नयाँ ग्रेट गेम’ युरेसियाको ऊर्जा धमनी र एआईलाई शक्ति दिने डेटा सेन्टरहरूमा लडिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को जियो–इकोनोमिक फ्य्राग्मेन्टेसन रिपोर्टमा विश्व दुई ठूला ब्लकहरूमा विभाजित हुँदै गइरहेको दाबी गरिएको छ । त्यसमा एउटा ध्रुव अमेरिका केन्द्रित र अर्को चीन केन्द्रित छ । यसले बहुध्रुवीय भन्दा पनि द्विध्रुवीय प्रतिस्पर्धाको थर्नको सिद्धान्तलाई बल दिन्छ ।

थर्नका अनुसार, चीनले इरानजस्ता देशहरूका लागि डिजिटल मेरुदण्ड प्रदान गर्छ तर अमेरिकाले उच्च–स्तरका सेमिकन्डक्टरहरू र वित्तीय प्रणालीमाथिको आफ्नो नियन्त्रण प्रयोग गरेर ती केन्द्रहरूलाई निष्प्रभावी बनाउँदैछ । विश्वव्यापी ऊर्जा बजार र एआई क्रान्तिमा सहभागी हुन चाहने जो कोहीले पनि अमेरिकाको ‘डिजिटल रेल’ र डलर नै प्रयोग गर्नुपर्ने अवस्था सिर्जना गर्ने यसको लक्ष्य हो ।

ब्रेटन वुड्स २.० को आन्तरिक पक्ष पनि उत्तिकै महत्त्वाकांक्षी छ । थर्नले ‘रनिङ द इकोनोमी हट’ (अर्थतन्त्रलाई तीव्र गतिमा चलाउने) रणनीतिको वर्णन गरेका छन् । उच्च वृद्धि, विनियमावलीमा खुकुलोपन र भन्सार शुल्क प्रयोग गरेर राष्ट्रिय ऋणको समस्याबाट बाहिर निस्कनु यसको अर्थ हो ।

यो विगतको मितव्ययिताको मानसिकताबाट ठूलो परिवर्तन हो । एआई पूर्वाधार र उन्नत उत्पादनमा लगानी गरेर अमेरिकाले आफ्नो औद्योगिक आधारलाई पुनः सक्रिय बनाउने लक्ष्य राखेको छ । यहाँ भन्सार शुल्क नाटक मात्र नभई आपूर्ति श्रृंखलाहरूलाई स्वदेशमै फर्काउन र अमेरिकाको आम्दानी देशकै पुनः औद्योगिकीकरणमा खर्च भएको सुनिश्चित गर्ने उपकरण हो ।

थर्नको विश्लेषणका आधारमा भन्नुपर्दा परम्परागत लगानीका उपायहरू अब पुराना भएका छन् । हामी साँच्चै बलियो डलरको युगमा छौं भने लगानीकर्ताहरूले आफ्नो लगानी रणनीतिमा पुनर्विचार गर्नुपर्छ ।

डलरलाई प्रभुत्वका लागि पुनः इन्जिनियरिङ गरिँदैछ भने अमेरिकी सेयर र ऋणपत्रहरू नै विश्वव्यापी पोर्टफोलियोको मुख्य हिस्सा हुनुपर्छ । छोटो अवधिको अमेरिकी ट्रेजरी बिलहरूलाई सुरक्षित सम्पत्तिको रूपमा हेर्नुपर्छ ।

अमेरिका बलियो भएर निस्किए पनि यो प्रक्रिया चुनौतीपूर्ण हुनेछ । चीनसँगको प्रविधि युद्ध र पश्चिम एसियाको अस्थिरताका कारण लगानीकर्ताहरूले केही हिस्सा गैर–अमेरिकी वास्तविक सम्पत्ति र जोखिम कम गर्ने उपकरणहरूमा पनि राख्नुपर्छ ।

जेम्स थर्नको ब्रेटन वुड्स २.० सम्बन्धी विश्लेषणमा केही कमजोरी र जोखिमहरू देखिन्छन् । अमेरिकाले चाहे अनुसार नै विश्व व्यवस्था परिवर्तन हुने र ‘किङ डलर’ पुनः शक्तिशाली हुने थर्नले अनुमान गरेका छन् । तर, डिडलराइजेसनको वास्तविक लहरलाई उनले कम आँकेका छन् ।

चीन, रुस र अन्य उदीयमान अर्थतन्त्रहरूले डलरमाथिको निर्भरता घटाउन सीआईपीएस जस्ता वैकल्पिक भुक्तानी प्रणाली, स्वर्ण भण्डारण तथा आआफ्नो राष्ट्रिय मुद्रामा विनिमयमा तीव्र जोड दिइरहेका छन् जसलाई बेवास्ता गर्न सकिँदैन ।

त्यसबाहेक थर्नले इंगित गरेको अर्थतन्त्रलाई तीव्र गतिमा चलाउने र उच्च भन्सार शुल्कको नीतिले उत्पादन लागत र उपभोक्ता मूल्य बढाउँछ । अमेरिकामा ३४० खर्ब डलरभन्दा बढीको सार्वजनिक ऋण भएको अवस्थामा उच्च मुद्रास्फीति र ब्याजदरले अमेरिकी अर्थतन्त्रको ऋण तिर्ने क्षमतामा गम्भीर संकट ल्याउन सक्छ ।

क्यानडा र भेनेजुएला जस्ता देशहरूलाई अमेरिकाले सजिलै आफ्नो ऊर्जा किल्लामा समेट्ने कुरा ती देशको आन्तरिक राजनीति र राष्ट्रिय स्वार्थका हिसाबले चुनौतीपूर्ण छ । संरक्षणवादी र ‘अमेरिका पहिले’ नीतिले गर्दा अमेरिकाका निकटतम मित्र राष्ट्रहरूसँगको सम्बन्ध चिसिएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले डाभोस फोरममा यसको संकेत गरिसकेका छन् ।

इरानले हर्मुज जलयोजकमा युआन वा स्टेबलकोइन तिरेर मात्र तेल ढुवानी गर्न दिने शर्त तेर्स्याएर पेट्रोडलरमाथि ठूलो धक्का दिएको छ । अमेरिकाले यस स्थितिलाई उल्ट्याउन सक्ने देखिएको छैन किनकि उसले इजरायलसँग मिलेर इरानमाथि ३९ दिनसम्म भीषण आक्रमण गरेको भए पनि इरान झुकेको छैन । थर्नले आफ्नो विश्लेषणमा यस तथ्यलाई उचित स्थान दिएका छैनन् ।

बिटकोइन र स्टेबलकोइनलाई डलरको सुरक्षा कवच मान्नु प्राविधिक र आर्थिक रूपमा जोखिमपूर्ण छ । डिजिटल सम्पत्तिको अत्यधिक अस्थिरता र नियामक चुनौतीहरूले वित्तीय प्रणालीमा नयाँ प्रकारको अस्थिरता निम्त्याउन सक्छ ।

थर्नको तर्कले विश्वको बदलिँदो बहुध्रुवीय वास्तविकतालाई भन्दा पनि अमेरिकी वर्चस्वको पुनरागमनको चाहनालाई बढी जोड दिएको देखिन्छ । उनले खोजेको जस्तो संरक्षणवादले ऐतिहासिक रूपमा विश्वव्यापी आर्थिक मन्दी निम्त्याएको तथ्यलाई यस विश्लेषणमा पर्याप्त महत्त्व दिइएको छैन ।