श्री एयरलाइन्सले ६ महिनामा गर्यो साढे २ अर्बको कारोबार

133
Shares

काठमाडौं । श्री एयरलाइन्सले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले गत आव २०८१/८२ मा ५ अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा २५ प्रतिशतले बढेको पाइएको छ । चालु आवको ६ महिनाको अवधिमा पनि व्यापार बढेको उल्लेख छ । कम्पनीअनुसार तीन वटा थप क्यू–४०० एयरक्राफ्ट सञ्चालनमा ल्याएर १७ वटाबाट सेवा दिँदै आएकाले कारोबार बढेको उल्लेख छ ।

कम्पनीको गत आवमा सञ्चालन नाफा मार्जिन ३० प्रतिशत रहेको जनाएको छ । सन् २०२१ र २०२२ मा २१ प्रतिशत थियो । नेपालमा सन् २०१७ देखि बम्बार्डियर सीआरजे एयरक्राफ्ट सञ्चालनमा ल्याएको कम्पनीले पछि यात्रुवाहक सेवामा रुपान्तर गरेको छ।

कम्पनी नेपालको आन्तरिक उडान सेवा दिँदै आएको तेस्रो ठूलो कम्पनी हो । कम्पनीले नेपालको १९ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२४ मा १६ प्रतिशत थियो ।

सन् १९९९ मा एयर अनन्या नाममा दर्ता भएको कम्पनी पछि श्री एयरलाइन्स प्रालिमा परिवर्तन गरेको थियो । साथै, कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो । कम्पनीले देशमा आन्तरिक उडान सेवा दिँदै आएको छ । कम्पनीले विभिन्न आन्तरिक ट्रङ्क रुट र हेलिकप्टर चार्टर सेवा दिँदै आएको छ ।

कम्पनीले हाल नाइन बब्बार्डियर एयरक्राफ्ट, दुई वटा जेट र ७ वटा टर्बो प्रोपबाट सेवा दिँदै आएका छन् । त्यस्तै, कम्पनीले रोटर सेग्मेन्टमा ६ वटा एमआई–८ हेलिकप्टर र २ वटा एयरका एएस३५० बीथ्रीबाट सेवा दिँदै आएको जनाएको छ । कम्पनीको दुई वटा रुटबाट उच्च आम्दानी हुने गरेको उल्लेख छ ।

कम्पनीले काठमाडौंदेखि नेपालगञ्ज र काठमाडौंदेखि धनगढीको रुटबाट उच्च आम्दानी गरेको देखिन्छ । उक्त दुई रुटले ५१ प्रतिशत आम्दानी भएको उल्लेख छ । त्यसपछि काठमाडौंदेखि सुर्खेतको रुटबाट ९ प्रतिशत आम्दानी गरेको जनाएको छ ।

सुधिर मित्तलको ९९.९० प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ६८ करोड २३ लाख रुपैयाँको रेटिङ गर्राको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब २५ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँको रेटिङ गराएको हो ।