
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै तत्कालका लागि महासंघको निर्वाचन रोकिएको हो ।
महासंघको यही चैत्र २९ र ३० गते हुने ६०औं वार्षिक साधारण सभाले केन्द्रीय कार्यकारणी समितीको निर्वाचन प्रयोजनको लागि गठित निर्वाचन समितिले चैत १२ मा प्रकाशित गरेको निर्वाचन कार्यक्रम अदालतबाट आदेश भएसँगै स्थगित गरेको हो ।
महासंघले अदालतको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि तय भइसकेकाे र चैत १२ मा जारी गरेको निर्वाचन कार्यक्रम तालिका बमोजिमका सबै कार्यहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले निवेदकहरुको मागमाथि पूर्ण रुपमा सम्बोधन नभई संस्थाको साधारण सभाहुँदा असर पर्ने भएकोले सोको निर्णय नभएसम्म महासंघको साधारणसभा नगर्नु र नगराउन अन्तरिम आदेश जारी गरेको छ।
ढुवानी व्यवसायी महासंघले २०८१ चैत २८ मा सम्पन्न एफएनसीसीआईको ५९औं वार्षिक साधारण सभामा सदस्यको हैसियतले उपस्थित रहेकामा अहिले आफूलाई समावेश नै नगरी एवं सदस्यता सम्बन्धी निर्णय नगरी साधारण सभा गर्न लागिएको भन्दै अन्तरिम आदेश मागेर रिट दायर गरेको थियो ।











प्रतिक्रिया