निजी क्षेत्रलाई चुनावी चटारो : प्यानललै बनाएर भिडन्तमा उत्रिए अध्यक्ष र वेटिङ अध्यक्ष

336
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लाई चुनावी चटारो लागेको छ । आगामी आइतबार र सोमबार (चैतको २९ र ३० गते) हुने महासंघको ६० औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वका लागि आइतबार नै उम्मेदवारी दर्ता भएको छ । महासंघको चुनावमा कुल ७३ पदका लागि १४१ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्ता गराएसँगै हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वेटिङ अध्यक्ष अन्जन श्रेष्ठबीच प्यानलमै प्रतिस्पर्धा हुँदैछ । ढकाल निर्वाचनबाट आफ्नो पक्षका उम्मेदवारलाई वरिष्ठ उपाध्यक्षसहितको नेतृत्व हस्तान्तरण गर्न चाहन्छन् भने वेटिङ अध्यक्ष अन्जन श्रेष्ठ आफैंले रोजेको नेतृत्वबाट महासंघ चलाउन चाहन्छन् । त्यसका लागि दुवै पक्ष आ-आफ्नो अनुकूलको समूह जिताउन कम्मर कसेर लागेका छन्।

महासंघको आगामी नेतृत्वकर्ता अन्जन श्रेष्ठ हुन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने अहिलेसम्मको व्यवस्था अनुसार अन्जन नयाँ टिम छानिएसँगै अध्यक्ष हुँदैछन् ।

अन्जनले आफ्नो समूहमा वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलाई ल्याउन चाहेका छन् । कार्यसमितिको चयन भएपछि त्यसबाट वरिष्ठ उपाध्यक्ष चयन हुने भएकोले वरिष्ठ उपाध्यक्ष बाहेकका पदका लागि महासंघमा उम्मेदवारी दर्ता गर्नेहरूको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छ ।

अन्जनको टिमबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षद्वय दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा तथा कार्यसमिति महिला सदस्यमा सुनिता न्हेम्हफुकी छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्ने गरी चन्द्रप्रसाद ढकालको समर्थनमा वरिष्ठ उपाध्यक्ष हेमराज ढकालले समूह बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

ढकालको समूहमा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, जिल्लानगर उपाध्यक्षद्वयमा उमेश डालमिया र कल्पना गैरे तथा कार्यसमिति महिला सदस्यमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्दै छन् ।

वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुँदै
महासंघको निर्वाचन पहिले कार्यकारिणी समितिको हुनेछ । यो समितिको चुनावी प्रतिस्पर्धाबाट आउने कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।

वरिष्ठ उपाध्यक्षका लागि अन्जन समूहबाट सुरकृष्ण वैद्य अगाडि देखिएका छन् । उनीसँग प्रतिस्पर्धा गर्न ढकाल समूहबाट हेमराज ढकाल छन् ।

अन्जन र चन्द्रले खुलेरै आफ्नो प्यानल बनाएर वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्दै गर्दा यसअघि वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेर जित निकाल्न नसकेका रामचन्द्र संघई पनि प्रतिस्पर्धामा आउने भएका छन् । संघईले छुट्टै समूह भने तयार पारेका छैनन् ।

उनले कार्यसमिति चयनपछि अध्यक्ष हुने अन्जनको समर्थन आफूलाई हुने भन्दै उम्मेदवारी दिने भएका छन् । दुईवटा समूहले आ-आफ्नै उम्मेदवार राखेर उम्मेदवारी दिएका कारण पनि संघई भने समूहविहीन छन् ।

त्यसो त रामचन्द्र संघई र सुरकृष्ण वैद्य एउटै समूहमा देखिएका छन् । तर वरिष्ठ उपाध्यक्षका लागि उनीहरूबीच सहमति नभएकोले एउटै मात्र नामलाई अगाडि सार्ने भन्ने टुङ्गो भने लाग्न सकेको छैन । यो निर्वाचनमा संघईले नै वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न रुचि देखाएको र सुरकृष्णले पनि नछोडेका कारण उनीहरूबीच सहमति नभए वरिष्ठ उपाध्यक्षका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।


नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि तयार भएका दुई पक्षका उम्मेदवारहरू:

पदअन्जन श्रेष्ठ समूहचन्द्र ढकाल समूह
वरिष्ठ उपाध्यक्षसुरकृष्ण वैद्यहेमराज ढकाल
वस्तुगत उपाध्यक्षशिवप्रसाद घिमिरेनरेशलाल श्रेष्ठ
एसोसिएट उपाध्यक्षप्रवलजंग पाण्डेज्योत्स्ना श्रेष्ठ
जिल्लानगर उपाध्यक्षदिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माउमेश डालमिया र कल्पना गैरे
महिला सदस्यसुनिता न्हेम्हफुकीकमला श्रेष्ठ



Skip This