शैक्षिक संस्थामा हुने दुर्व्यवहारविरुद्ध सरकारको एक्सन: उजुरीका लागि विशेष संयन्त्र तयार

0
Shares

काठमाडौं । शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको छ ।

विद्यार्थीहरूले विद्यालय वा कलेजमा भोग्नुपरेका उत्पीडन, हिंसा वा दुर्व्यवहारका घटनाहरूलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले उजुरी सुन्ने विशेष संयन्त्र सञ्चालनमा ल्याएको हो ।

विद्यार्थीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्न र त्यस्ता घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी तथा प्रशासनिक कारबाही अगाडि बढाउने उद्देश्यले यो अनलाइन पोर्टल/लिङ्क सार्वजनिक गरिएको छ।

शिक्षा मन्त्री सस्मित पोखरेलले यस अभियानका बारेमा भनेका छन्, ‘शिक्षा क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनु हाम्रो मुख्य प्राथमिकता हो। विद्यार्थीहरूले कुनै पनि डर वा संकोच नमानी आफूमाथि भएका दुर्व्यवहारको जानकारी हामीलाई दिनुहुन म अनुरोध गर्दछु। तपाईँको परिचय पूर्ण रूपमा गोप्य राखिनेछ र दोषीलाई कडा कारबाही गर्न मन्त्रालय प्रतिबद्ध छ।’

मन्त्रालयका अनुसार, उजुरी दिने पीडित वा जानकारी दिने व्यक्तिको पहिचान र विवरणलाई पूर्ण रूपमा सुरक्षित र गोप्य राखिनेछ। विद्यार्थीहरूलाई निर्धक्क भई मन्त्रालयले उपलब्ध गराएको लिङ्क मार्फत आफ्नो विवरण र घटनाको जानकारी पठाउन आह्वान गरिएको छ।

सुरक्षित र भयरहित शैक्षिक वातावरण निर्माण गर्ने सरकारको यस अभियानमा विद्यार्थी, अभिभावक र सरोकारवाला सबैको सक्रिय सहभागिता र सहयोगको अपेक्षा मन्त्रालयले राखेको छ।

गुनासो दर्ताका लागि यो लिंकमा थिच्नुहोस्