‘उद्योगहरू मर्दैछन्, बजार केही बिचौलियाको नियन्त्रणमा गइरहेको छ’

252
Shares

नेपालको अर्थतन्त्र कमजोर हुँदै गर्दा प्रश्न उठ्छ किन उद्योग खोल्न छोडिएको छ ? किन भएका उद्योग पनि टिक्न संघर्ष गरिरहेका छन् ? यसका धेरै कारण छन् । तर आज म ती मध्ये एउटा गम्भीर विषय चोरी पैठारीको बारेमा बोल्न चाहन्छु ।

खुला सिमानाबाट दैनिक रूपमा अरबौं रुपैयाँको अवैध सामान, बिना कर, बिना कागजात, बिना नियन्त्रण नेपाल भित्रिरहेको छ।

राज्यले दिनहुँ अरबौं रुपैयाँको राजस्व गुमाइरहेको छ । कानुनी उद्योगहरू मर्दैछन् र बजार केही बिचौलियाको नियन्त्रणमा गइरहेको छ ।

यो केवल आर्थिक समस्या मात्रै होइन, यो गम्भीर नेक्सस हो । आज उद्योगीले दुईवटा युद्ध लडिरहेको छ । एउटा अनअथोराइज्ड ट्रेडसँग, अर्को चोरी पैठारीसँग । नियम पालन गर्ने उद्योगी कर तिर्छ, प्रक्रिया पूरा गर्छ । तर नियम नमान्नेले सस्तैमा बजार कब्जा गर्छ । के हामीले अझै पनि यस्तो अन्यायलाई निरन्तरता दिने हो ? अब कडा निर्णय लिनै पर्ने समय आएको छ ।

चोरी पैठारी रोक्नको लागि केवल नारा होइन कडा अनुगमन चाहिन्छ । अनुगमन गर्ने निकायलाई स्पष्ट केपीआई (मुख्य कार्यसम्पादन सूचक) र ओकेआर (उद्देश्य र मुख्य नतिजाहरू) दिइनुपर्छ । जिम्मेवारी तोकिनुपर्छ, परिणाम अनिवार्य हुनुपर्छ । अनुगमन कागजमा होइन ग्राउण्डमा देखिनुपर्छ ।

इतिहासले हेर्दैछ । हामी निर्णय गर्ने पुस्ता हौं कि केवल कुरा गर्ने ? अब निर्णय गर्ने समय हो, अब परिणाम दिने समय हो

आज उद्योग खोल्नेको हिम्मत घट्दै गएको छ । चलिरहेको उद्योग पनि प्रतिस्पर्धा गर्न नसकेर थाकेको छ । यसको असर कमजोर अर्थतन्त्र, घट्दो रोजगारी र विदेशिने युवामा परेको छ । तर लाभ त्यही बिचौलियाहरूलाई भइरहेको छ जसको पहुँच र नेक्सस छ ।

अब यो नेक्सस तोड्नै पर्छ । म यस सदनमार्फत अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । यदि आजै कडा कदम चालिन्छ भने उद्योग बच्छ, राष्ट्र बन्छ अनि अर्थतन्त्र बलियो हुन्छ र हाम्रो युवा शक्ति आफ्नै देशमा भविष्य देख्न थाल्छ । तर यदि अझै पनि कार्यान्वयन भएन भने हामी केवल बोल्ने तर परिवर्तन गर्न नसक्ने संसद हुनेछौं ।

इतिहासले हेर्दैछ । हामी निर्णय गर्ने पुस्ता हौं कि केवल कुरा गर्ने ? अब निर्णय गर्ने समय हो, अब परिणाम दिने समय हो ।

(बुधबारको प्रतिनिधि सभा बैठकमा उद्योगीसमेत रहेकी रास्वपा सांसद विदुषी राणाले व्यक्त गरेको विचार ।)