
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनीहरूविरुद्ध पक्राउ अनुमति दिएको स्रोतको भनाइ छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ अनुमति लिए पनि हाल देउवा दम्पती नेपालमा नभएका कारण पक्राउ गर्न नसकिएको उच्च स्रोतले जनाएको छ।
उनीहरू फागुन २१ गतेको चुनावअघि नै स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। पछिल्लो समय उनीहरू सिंगापुरबाट हङकङतर्फ लागेको समाचार सार्वजनिक भएका छन् ।
गृहमन्त्री निकट स्रोतका अनुसार उनीहरू स्वदेश नफर्किए आवश्यक प्रक्रिया पूरा गरी इन्टरपोलमार्फत ‘नोटिस’ जारी गरेर ल्याउने तयारी समेत भइरहेको छ । यद्यपि, प्रहरी स्रोतले भने पक्राउ अनुमति लिइए पनि पक्राउका लागि हालसम्म माथिल्लो तहबाट स्पष्ट निर्देशन वा अनुरोध आइनसकेको बताएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणामाथि कुटपिट भएको थियो । सोही क्रममा उनीहरूको बुढानीलकण्ठस्थित निवासमा आगजनी समेत भएको थियो ।
आगजनीपछि देउवा निवासमा जलेका नोटहरू फेला परेको भिडियोहरू सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले घरमै पुगेर मुचुल्का उठाएको थियो । विभागको पत्राचारपछि अहिले यस घटनाको विस्तृत अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अगाडि बढाएको छ ।
जेनजी आन्दोलन प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरि अनुसन्धान भइरहेको छ।








प्रतिक्रिया