
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन् ।
यद्यपी, सेयर बजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाई छ । सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाई छ । यहीकारण, लगानीकर्ता आत्तिनु नपर्ने वाग्लेले बताए।
स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे । ‘सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,’ वाग्लेले थपे, ‘तर पनि इनसाइडर ट्रेडिङ’ गर्ने र नियम विपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ ।’
तर, सेयर बजारमा भएको लगानीको वैद्यता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाई छ । ‘सेयर बजारमा आएको लगानी वैद्य र अवैद्य भनेर अनुसन्धान सुरु भएको छैन । किनकी, सेयर बजारमा चेक र बैंकिङ माध्यमबाट कारोबार हुन्छ,’ उनले थपे ।
सोहीकारण सेयर लगानीकर्ताले आत्तिनु नपर्ने बताउँदै सरकार बन्नुअघि र बनिसकेपछि सेयर बजार घट्नुपर्ने गरी अर्थतन्त्रमा व्यापक परिवर्तन आइनसकेको बताए । यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए ।
युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उनको भनाई छ । अर्थमन्त्री वाग्लेले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे । नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन पनि सरकारले सम्पत्ति शुद्धीकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिए ।
सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने भएकाले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए । यसैगरी, सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए ।








प्रतिक्रिया