अर्थमन्त्रीको आश्वासनपछि सम्हालियो सेयर बजार, नेप्से ८३.३३ अंकले बढ्दै २७६० बिन्दुमा

63
Shares

काठमाडौं । अर्थमन्त्रीको आश्वासनपछि लगातार घटिरहेको सेयर बजार सोमबार भने सम्हालिएको छ । रास्वपा सरकार बनेदेखि लगातार संकुचित बन्दै गएको सेयर बजार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आश्वासनपछि सोमबार भने केही मात्रामा सम्हालिन पुगेको हो । बजार लगातार घट्न थालेपछि वाग्लेले साना लगानीकर्तासँग जोडेर बजारलाई आतंकित पार्ने काम भएको भन्दै त्यसको विश्वास नगर्न आग्रह गरेका थिए ।

रास्वपाले आफ्नो बाचापत्रमा नै पुँजीबजार सुधारका विषय उल्लेख गरेकाले त्यसलाई मध्येनजर गर्न उनले सुझाएका थिए । सोमबार अघिका छ कारोबार दिनमा मात्रै २७४ अंकले घटेर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६७६ बिन्दुमा खुम्चिसक्दा पनि अर्थमन्त्रीले कुनै प्रतिक्रिया नदिएको भन्दै आलोचना भइरहेको थियो । तर, सोमबार भने अर्थमन्त्रीले लगानीकर्तालाई विश्वास नगुमाउन आग्रह गरेसँगै बजार सकारात्मक बनेको हो ।

सोमबार नेप्से ८३.३३ अंक अर्थात् ३.११ प्रतिशतले बढेर २७६०.०२ बिन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्से १०५ अंकले घट्दै २६७६.६८ बिन्दुमा खुम्चिएको थियो ।

गत साताको बिहीबार नेप्से ५.८२ अंकले बढेको थियो । त्यसअघि, बुधबार नेप्से ७४.७३ अंकले घटेको थियो भने मंगलबार १९.७० अंकले बढेको थियो । यस्तै, गत साताको सोमबार नेप्से ४७.७१ अंक र गत आइतबार भने नेप्से ७१.०५ अंकले घटेको थियो ।

सोमबार कारोबारमा आएकामध्ये २६४ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार भने ७ कम्पनीको सेयर मूल्य बढ्दा २६१ कम्पनीको घटेको थियो ।

सोमबार अर्थमन्त्री वाग्लेले धितोपत्र दलाल व्यवसायी र पत्रकारसँगको भेटका क्रममा लगानीकर्तालाई नआत्तिन आग्रह गरेका थिए । बलियो, उदार र निजी क्षेत्रमैत्री सरकार आएकाले साना लगानीकर्तालाई उचाल्ने वा थेचार्ने ढंगमा सक्रिय समूहका पछाडि लाग्न नहुने तर्क उनले गरेका थिए ।

सोमबार नेप्सेमा कुल १० अर्ब ९२ करोड माथिको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १२ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।

आज उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, नेशनल हाइड्रो पावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ ।