प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा गएनन् प्रचण्ड

8.1k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सत्ता सम्हाले लगत्तै प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरिरहेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूको निर्वाचन क्षेत्रमा देखिएका समस्या सुन्ने र हल खोज्ने प्रयास बालेनले गरेको भन्दै प्रशंसा पनि भइरहेको छ ।

प्रदेशगत रूपमा प्रधानमन्त्रीले सांसदहरूसँग सामूहिक छलफल गरिरहेका हुन् ।

सूदुरपश्चिम, कोशी, मधेश, गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरिसकेपछि प्रधानमन्त्री शाहले सोमबार(आज) लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल गरे ।

प्रधानमन्त्री बालेनसँगको छलफलमा लुम्बिनी प्रदेशबाट निर्वाचित अधिकांश सांसदहरूको उपस्थिति भए पनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सहभागी भएनन् ।

लुम्बिनी प्रदेशमा बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, रुकुम पूर्व नवलपरासी जिल्ला पर्छन् ।

प्रचण्ड नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रुकुमपूर्वबाट निर्वाचित भएका हुन् ।

नेकपाका संयोजकसमेत रहेका प्रचण्ड पूर्वप्रधानमन्त्रीसमेत हुन् । तर, प्रधानमन्त्रीले बोलाएको सांसदहरूसँगको छलफलमा भने उनी सहभागी नभएका हुन् ।

‘आज लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ स्रोतले भन्यो, ‘सबै माननीयज्यूहरू बैठकमा हुनुहुन्थ्यो तर रुकुमपूर्वबाट जित्नु भएका प्रचण्ड भने आउनु भएन । सायद उहाँको क्षेत्रमा केही समस्या छैनन् होलान् !’

११ बजेदेखि सुरू भएको बैठक १२:५० सम्म पनि नसकिएपछि प्रधानमन्त्री बालेनले धारणा राखिसकेका सांसदलाई संसद बैठकमा जान आग्रह गरेका थिए । बोल्न बाँकी रहेका सांसदहरूसँग मात्र प्रधानमन्त्री बसेका थिए ।

‘प्रतिनिधि सभाको बैठक आज १ बजेका बस्दै थियो त्यही भएर प्रधानमन्त्रीज्यूले बैठकमा बोलिसक्नु भएका सांसदहरूलाई बैठकमा जान आग्रह गर्नुभयो,’ स्रोतले भन्यो, ‘बोलिसक्नु भएका सांसदहरू संसद बैठकमा जानु भयो अनि बोल्न बाँकी सांसदहरूका कुरा सुन्ने काम भयो ।’

बैठकमा क्षेत्र तथा प्रदेशका समस्याबारे प्रधानमन्त्रीले सुन्ने काम गरेका थिए । तत्काल समाधान गर्ने समस्या के हुन् र समाधान के हुन् भन्ने सन्दर्भमा प्रधानमन्त्रीले जिज्ञासा राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।