सदन योभन्दा अगाडि खुमलटार, बालुवाटार, बूढानीलकण्ठ र बालकोटको बन्दी भएर बस्यो: झा

168
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले यसअघिको सदन खुमलटार, बालुवाटार, बूढानीलकण्ठ र बालकोटको बन्दी भएर बसेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । कांग्रेस, नेकपा र एमालेका शीर्ष नेतृत्वहरुको निवासमा संसद बन्दी बनाइँदा सिद्धान्त कमजोर बनेकोतर्फ संकेत गर्दै अब त्यस्तो नहुने उनको भनाइ छ ।

नेपालले दक्षिण एशियाकै उत्कृष्ट सदन पाएको भन्दै उनले संस्कार, संस्कृति र सिद्धान्तअनुसार अघि बढ्नुपर्ने बताए ।
सदनलाई मन लागे सहभागि हुने र मन नलागे सहभागि नहुने चिया चौतारीजस्तो बनाइनु नहुनेतर्फ समेत सबैको ध्यानाकर्षण गराए ।

‘सदन योभन्दा अगाडि खुमलटार, बालुवाटार, बुढानिलकण्ठ र बालकोटको बन्दी भएर बस्यो । त्यसकारण संख्या मात्र गनियो । सिद्धान्त जहिले पनि कमजोर बन्यो । अब सदन सिद्धान्तको हुन्छ । यसका कार्यमा सबैजनाको योगदानको लागि म अनुरोध गर्दछु,’ उनले भने, ‘सदन कुनै चिया चौतारी होइन जहाँ मन लागे बोल्ने र मन नलागे नबोल्ने । सदन गुरुकुल हुनुपर्छ । सदन विश्वविद्यालय हुनुपर्छ । जहाँ प्रश्न लिएर आउँछु र गृहकार्य गरेर आउँछु भन्ने भाव सबैमा हुनुपर्छ ।’