निजी क्षेत्रलाई धरपकड गरेर त्रास बढाउँदैनौं, आर्थिक जरिवाना लगाएर कारबाही गर्छौं: अर्थमन्त्री

980
Shares

फाइल तस्बिर

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई धरपकड गरेर त्रास बढाउने काम सरकारले नगर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटमा अर्थमन्त्री वाग्लेले प्रमाण भेटिएका, पक्राउ गर्नुपर्ने र पहिलेदेखि अनुसन्धान भएर अकाट्य प्रमाण भएकाको हकमा नियन्त्रणमा लिएको बताएका छन् ।

‘अनुसन्धान गर्दै जाँदा धेरैवटा लहरो तानिने भएकोले सबैलाई हतकडी लगाएरै अनुसन्धान गर्ने पक्षमा सरकार छैन । त्यसका लागि आर्थिक जरिवाना (फाइनान्सियल पेनाल्टी) लगाएर पनि कारबाही गर्न सक्छौँ,’ अर्थमन्त्री वाग्लेले भने, ‘अहिले समातिएका केही निजी क्षेत्रका व्यक्तिहरू सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधसँग जोडिएका छन् ।’

वाग्लेले भने, ‘सरकारले अहिले आएर मात्र उनीहरूमाथि अनुसन्धान सुरु गरेको होइन । वर्षौंदेखि अनुसन्धान भएका र अकाट्य प्रमाण भएका केसहरू पहिले नै बनिसकेका रहेछन् । त्यसलाई भने नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपरेको हो ।’

अर्थमन्त्री वाग्लेले भने, ‘अहिलेको नयाँ सरकार आएपछि दुईवटा विकल्प थिए: कि त शक्तिशाली मान्छेहरू भनेर ती केस लुकाउनुपर्यो अन्यथा कानुनअनुसार अगाडि बढ्नुपर्यो । हामीले कानुनअनुसार अगाडि बढ्ने निर्णय गरेका मात्र हौँ ।’

उनले कसैलाई प्रतिशोध साध्ने वा व्यक्तिगत टार्गेट गर्ने हाम्रो उद्देश्य नभएको बताए । उनले भने, ‘यदि वित्तीय अपराध हो भने जेल नै हाल्नुपर्छ भन्ने छैन, जरिवानाबाट पनि जान सकिन्छ ।’ सरकार निजी क्षेत्रलाई हतोत्साहित गर्न नचाहने उनले बताए ।