
काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध पाँच दिन म्याद थप गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा पक्राउ परेका अग्रवाललाई अदालतमा उपस्थित गराइएको थियो । बहस सकिएपछि अदालतले पाँच दिन म्याद थप गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए ।
विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवालमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ र बयानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
अग्रवाल यसअघि २०७६ सालमा ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसबेला उनलाई पछि तारेखमा छाडिएको थियो ।
यसअघि शुक्रबार शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनको भने बयान सकिएपछि रिहा गरिएको विभागले जनाएको छ ।
शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक घरानामध्ये एक हो । समूहअन्तर्गत जगदम्बा स्टिलसहित स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता वस्तु क्षेत्रमा लगानी रहेको छ ।










प्रतिक्रिया