नयाँ सरकार बनेयता ७,००० भन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

182
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी (बेटिङ) विरुद्ध कडा कदम चालेको छ । मन्त्रालयको निर्देशनपछि नेपालमा सञ्चालित ७ हजारभन्दा बढी अनलाइन सट्टेबाजीसँग सम्बन्धित मोबाइल एप र वेबसाइटहरू बन्द गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई परिपत्र गर्दै यस्ता अवैध एप र यूआरएलहरू ब्लक गर्न निर्देशन दिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले चैत १५ गते दिएको निर्देशन र गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय (बुँदा नं. ४२) बमोजिम यो प्रक्रिया अघि बढाइएको हो ।

मन्त्रालयले अनलाइन सट्टेबाजीलाई निरुत्साहित गर्न ‘२४ घण्टाभित्र बन्द गर्ने’ नीति अख्तियार गरेको छ । सोही नीति अनुसार, पछिल्लो एक सातामा मात्रै ५० भन्दा बढी उजुरी र गुनासोहरू प्राप्त भएको र ती सबैलाई तत्काल सम्बोधन गरी सम्बन्धित लिंकहरू बन्द गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालको कानुनले सट्टेबाजीलाई पूर्ण रूपमा अवैध मानेको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजी गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

यसैगरी, विज्ञापन ऐन, २०६६ ले पनि सट्टेबाजीसम्बन्धी कुनै पनि प्रकारका प्रचारप्रसार वा विज्ञापन गर्न कडा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले अवैध सट्टेबाजीका कारण सामाजिक विकृति र आर्थिक जोखिम बढेको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत समेत गराएको छ ।

अवैध एप र वेबसाइटहरू पहिचान गर्ने र तिनलाई बन्द गर्ने कार्यलाई निरन्तरता दिइने मन्त्रालयको भनाइ छ ।

Skip This