
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरी आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत जयन्ती) भव्यताका साथ मनाएको छ ।
विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले यस अवसरमा आफ्ना ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर लगायत उपत्यका बाहिरका सम्पूर्ण प्रदेशहरुमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
स्थानीय स्तरमा रगतको अभावलाई कम गर्न र जीवन बचाउने अभियानमा सघाउ पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
यसपटकको वार्षिकोत्सवलाई थप विशेष बनाउन बैंकले ‘परम्परागत भेषभुषा’ कार्यक्रम समेत सञ्चालन गरेको थियो । जसमा कर्मचारीहरुले आ–आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्किने पोसाक पहिरिएका थिए । बैंकले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल नारालाई आत्मसात गर्दै कार्यस्थलमा समावेशिता, सम्मान र आन्तरिक एकताको भावनालाई प्रवर्द्धन गर्न यो पहल गरेको बताएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन बैंकले समुदायका लागि कुमारी बैंक कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । यस कार्यक्रममार्फत देशैभर रहेका शाखाहरुमार्फत वर्षैभरि गरिब, विपन्न तथा पिछडिएका वर्गहरुको जीवनस्तर सहज बनाउने कार्यहरु गरिने बैंकको योजना छ ।
साथै, बैंकले आफ्नो रजत जयन्तीको अवसरमा ग्राहकहरुका लागि आकर्षक ‘सिल्भर सेभिङ्गस् बचत खाता’ सार्वजनिक गरेको छ । यस खातामा ग्राहकहरुले बचत खाताकै तरलतामा मुद्दती खाता सरहको उच्च ब्याजदर प्राप्त गर्न सक्नेछन् ।
हाल कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ३० लाखभन्दा बढी ग्राहकवर्गहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया