सुलभ अग्रवालको पासपोर्ट रोक्का

0
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो ।

विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं. ११७७०६७४ र BA००१०३०९ रोक्का गरिएको छ।

शुक्रबार साँझै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । सुलभ शंकरका छोरा हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको माग र जारी अनुसन्धानको सिलसिलामा उनी विदेश फरार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रामा प्रतिबन्ध लगाइएको हो ।

व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण लगायतका आरोपमा पक्राउ परेपछि उनीसँग व्यावसायिक साझेदारी र आर्थिक सम्बन्ध रहेका अन्य ठूला घरानाका व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको छ । भट्ट शंकर ग्रुपका अभिन्न अंग हुन् । उनले ग्रुपको परामर्शदाताका रूपमा काम गरेका छन् ।

भट्टमाथि भइरहेको अनुसन्धानको क्रममा अग्रवालको नाम जोडिएर आएपछि अध्यागमनले ‘ब्ल्याक लिस्ट’ मा राख्दै राहदानी रोक्का गर्ने निर्णय लिएको हो ।

यसअघि पनि शंकर ग्रुपका सुलभ अग्रवाल कोभिड-१९ महामारीको समयमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । अहिले फेरि भट्ट प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्दामा उनको संलग्नता देखिएको छ ।