बजार अनुगमनमा बाणिज्य विभागको कडाइ: एमआरपी, बिल र गुणस्तरमा सम्झौता नगर्न चेतावनी

574
Shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने ठगी र अनुचित व्यापारिक क्रियाकलाप नियन्त्रण गर्न व्यवसायी तथा उपभोक्ताहरूका लागि एक जरुरी सूचना जारी गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थालाई कडाइका साथ लागू गर्न भन्दै वस्तुको मूल्य, गुणस्तर र बिलिङ प्रक्रियामा विशेष निर्देशन दिएको हो ।

विभागद्वारा जारी सूचनामा नेपालको संविधानले प्रत्याभूत गरेको उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गर्न बजारलाई सहज, पारदर्शी र न्यायोचित बनाउनुपर्नेमा जोड दिइएको छ।

विभागले कुनै पनि वस्तुको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्दा त्यसमा लाग्ने सबै प्रकारका करहरू समावेश हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिणाम, तौल र बनावटका बारेमा झुटो वा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउन नपाइने विभागले प्रष्ट पारेको छ । साथै, न्यूनस्तरका, नक्कली वा कमसल वस्तु बिक्री गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

उपभोक्ता संरक्षण ऐनको दफा ११ र १२ बमोजिम विक्रेता वा सेवा प्रदायकले वस्तु वा सेवा बिक्री गरेपछि अनिवार्य रूपमा बिल वा रसिद उपलब्ध गराउनुपर्नेछ । विभागले व्यवसायीहरूलाई आफूले सामान खरिद गरेको बिल बिजक पनि कारोबार स्थलमै राख्न निर्देशन दिएको छ। यता उपभोक्ताहरूलाई पनि आफूले वस्तु वा सेवा उपभोग गरेपछि अनिवार्य रूपमा बिल माग्न र लिन विभागले आग्रह गरेको छ।

विभागले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न नहुन र कमसल वस्तुको उत्पादन वा बिक्री नगर्न सरोकारवाला सबैलाई सचेत गराएको छ। विभागको यो सूचनालाई बेवास्ता गर्ने, अटेर गर्ने वा कानुन विपरीत कार्य गर्ने व्यवसायीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।

Skip This