महेश बस्नेतविरुद्ध शोभा पाठकको रिट खारेज

5.9k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ । पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल, काठमाडौंको निर्णय सदर गरेको हो ।

पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। उनको उजुरीमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरिएको थियो । सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्च अदालतको यस फैसलासँगै महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ।

रिट खारेज गर्ने अदालतले आदेश दिएसँगै बस्नेतले विगत तीन वर्षदेखि भोग्दै आएको दुःख आजबाट अन्त्य भएको बताएका छन्।

उनले भने, ‘झुटा मुद्दा र बनावटी विवरण पेस गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए। त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालत पाटनबाट खारेज भएको छ।’

उनले आफ्नो चरित्रहत्या गरिएको र परिवारलाई समेत अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा गिरफ्तार गर्ने दुष्प्रयास समेत भएको भन्दै यी सम्पूर्ण घटनाविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

Skip This