
काठमाडौं । ‘तपाईंहरुको आवाज र दृष्टिकोणले हामीसँग भएको वास्तविक शक्ति बोध गराएको छ । सोधिएका हरेक प्रश्न, व्यक्त गरिएका विचार र औंल्याइएका चुनौतीले यस संस्थाको भविष्यको लागि गहिरो महत्त्व राख्दछन् ।’ गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले मंगलबार बिहान सामाजिक सञ्जाल लिंक्डइनमा भिडियोसँगै पोष्ट गरेको यो विचार अहिले चर्चामा छ ।
३७ वर्षीय अक्षयले गत मंसिरमा ग्रुपको नेतृत्व सम्हालेसँगै कामको शैली पनि बदलेका छन् । जसमध्ये एक हो– वार्ता ।
अक्षयले पोष्ट गरेको भिडियोमा उनले ग्रुपका कर्मचारीसँग वार्ता गरिरहेको देखिन्छ । नेपालको सबैभन्दा ठूलो रोजगारदाता व्यावसायिक घराना गोल्याण ग्रुपमा करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत छन् । उनले पहिलो चरणमा कर्पोरेट कार्यालय गोल्याण टावरमा कार्यरत कर्मचारीसँग प्रत्यक्ष अन्तरक्रिया गरेका छन् ।
‘वार्ता’ नाम दिइएको यस कार्यक्रममार्फत उनले कर्मचारीका प्रश्न, गुनासो र सुझावहरु सुनेका छन् । ‘तपाईंरुले प्रमाणित गर्नुभयो कि– हाम्रा कर्मचारीहरु यहाँ केबल काममात्र गर्दैनन्, गहन रुपमा सोच्न र समृद्धिको यात्रामा सहकार्य गर्न पनि सक्षम छन्,’ उनले वार्ताको अनुभव सुनाउँदै भनेका छन्, ‘अब मेरो प्रतिवद्धता तपाइँले व्यक्त गर्नुभएको विश्वासलाई निर्णय प्रक्रियामार्फत विकासमा बदल्नु हुनेछ ।’

साढे ६ दशक लामो विरासत बोकेको गोल्याण ग्रुपको नेतृत्व अहिले तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले गरिरेहका छन् । स्वदेशको श्रम, सीप र पुँजीलाई प्रयोग गर्दै ग्रुपलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल बनाउने अभियानमा रहेका अक्षयले यसको लागि संस्थाको आन्तरिक सामथ्र्यलाई मजबुत बनाउने रणनीतिअन्तर्गत ‘वार्ता’ थालेका हुन् । कार्यरत कर्मचारीसँग बसेर प्रत्यक्ष कुराकानी गर्ने, उनीहरुका समस्या तथा सुझाव सुन्ने र सोको आधारमा संस्थागत योजना तथा रणनीति तय गर्ने वार्ताको उद्देश्य रहेको अक्षयले बताएका छन् ।
ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एण्ड पब्लिक रिलेसन्स प्रमुख ज्योति गैह्रेका अनुसार विशेषगरी वार्तासत्र मध्यम र कनिष्ठ तहका कर्मचारीहरूलाई संलग्न गराउन डिजाइन गरिएको हो, जसको सामान्यतया अध्यक्षसँग प्रत्यक्ष पहुँच हुँदैन । यसमा कर्मचारीहरूका अनुभव सुन्दै उनीहरुले भोग्नुपर्ने समस्या र चुनौतीहरूलाई सम्बोधन गर्दछ । ‘यस पहलले अनौपचारिक ढाँचा अपनाउँछ, जसले अध्यक्ष र कर्मचारीहरूबीच खुला संवाद सिर्जना गर्दछ । आपसी विश्वास निर्माण, पारदर्शिता बढाउनु र संगठनात्मक स्तरहरूमा बलियो सम्बन्ध विकास गर्नु यसका उद्देश्य हुन्,’ उनले भनिन् ।
गोल्याण ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । विश्वका ‘उत्कृष्ट १०’ भित्र पर्ने स्पेनको एसादी यूनिभर्सिटीबाट बिजनेश स्टडिजमा स्नातकोत्तर गरेका उनले छोटो सयममै ग्रुपलाई नयाँ युगको पदचाप र परिवर्तनको चाहनामा हिँडाउने प्रयास गरेका छन् ।
गोल्याणले अपलोड गरेको भिडियो हेर्न यो लिंकमा क्लिक गर्न सकिन्छ ।








प्रतिक्रिया