प्रधानमन्त्रीको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त

1k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् । उनले स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा पाउने गरी बालेनको प्रेस हेर्ने जिम्मा पाएका हुन् ।

बजगाईं बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस सहजकर्ताकै भूमिकामा थिए । बालेन झापा ५ बाट निर्वाचन लड्नै गर्दा बजगाईंले शाहको अभियानमा सक्रिय भएर काम गरेका थिए ।

बालेन टिमबाट ललितपुर–१ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिने चर्चाका माझ सुरेन्द्रले शाहको कार्यकाललाई सफल बनाउन सहयोग गर्ने निर्णय लिएका थिए । ललितपुरको महांकाल गाउँपालिका–४, कालेश्वरका स्थायी बासिन्दा बजगाईं महानगरको सहरी योजना आयोगमा शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत थिए ।

काठमाडौं महानगरमा उनी मिडिया समन्वय, शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा र स्थानीय सरकार–मिडिया सम्बन्ध सुदृढीकरणमा संलग्न थिए । महानगरको नीतिगत काम, सहरी व्यवस्थापन र सुशासनका विषयलाई जनतासम्म पुर्‍याउने जिम्मेवारीमा रहेका बजगाईंलाई व्यवहारिक र नीतिगत दुवै पक्षको अनुभव भएको व्यक्तिका रूपमा हेरिन्थ्यो ।

काठमाडौं महानगरपालिका भन्दा पहिला उनी नेपालको विभिन्न सञ्चार माध्यममा सक्रिय रहेर काम गरेका थिए । उनले नेपाल लाइभ, नेपालवाच, उकेरा, रुटिन अफ नेपाल बन्द, बाह्रखरी र इकागजजस्ता राष्ट्रिय सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गर्दै सुशासन, सार्वजनिक नीति र सामाजिक मुद्दा कभर गरेका छन् । पत्रकारितामार्फत राज्य संयन्त्र, राजनीति र प्रशासनको नजिकबाट अध्ययन गर्ने अवसर पाएका बजगाईं पछिल्लो समय संस्थागत सञ्चार र सार्वजनिक सूचनामा केन्द्रित छन् ।

ग्रामीण विकास विषयमा स्नातक अध्ययन गरेका बजगाईं त्रिभुवन विश्वविद्यालय अन्तर्गत समाजशास्त्रमा स्नातकोत्तर गर्दै छन् । सामाजिक न्याय, पारदर्शी शासन, जवाफदेही राजनीति र नागरिक सहभागिता उनको मुख्य चासोका क्षेत्र हो ।

बजगाईं सञ्चार तथा सार्वजनिक नीतिको क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । यस्तै पत्रकारिता र सरकारी सञ्चारसँगै समुदाय स्तरको विकास र अनुसन्धानमा पनि सक्रिय रहँदै आएका छन् ।