अञ्जन श्रेष्ठलाई चन्द्र ढकालको चेतावनी: गुटबन्दी भए म पनि मौन बस्दिनँ

665
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मीले उचाइ लिइरहेका बेला वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको एउटा सार्वजनिक अभिव्यक्तिले निजी क्षेत्रको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

आगामी हप्ता हुने निर्वाचनमा दुई स्पष्ट समूहहरू प्यानलसहित भिड्ने तयारीमा रहेका बेला अध्यक्ष ढकालले भावी अध्यक्ष (हालका वरिष्ठ उपाध्यक्ष) अञ्जन श्रेष्ठलाई ‘गुटबन्दी’ नगर्न र ‘तटस्थ’ रहन चेतावनी दिए ।

महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहको वस्तुगततर्फको उम्मेदवारी घोषणामा अध्यक्ष ढकालले ‘वेटिङ’ अध्यक्षले नै गुटबन्दी गर्न नहुने बताएका हुन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि ‘कन्फर्म’ अध्यक्ष हुन् । तर श्रेष्ठले पर्दापछाडि आफ्नो प्यानल बनाएको र चुनावी अभियानमा सक्रिय भएको आरोप लगाउँदै अध्यक्ष ढकालले यस्तो कार्य विधानको मर्मविपरीत भएको टिप्पणी गरे ।

अध्यक्ष ढकालले महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रणाली किन ल्याइएको थियो भन्ने कुराको स्मरण गराउँदै नेतृत्वको इमान्दारितामाथि प्रश्न उठाए । नेतृत्व हस्तान्तरण सहज होस् र नेतृत्वमा पुग्ने व्यक्ति विवादरहित होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको भए पनि त्यसको दुरुपयोग भइरहेको उनको आशय छ ।

‘यो वरिष्ठ उपाध्यक्षको सिस्टम एउटा नेतृत्वलाई तयार गर्नका लागि, अनि अर्को त्यो जुन नेतृत्व वरिष्ठ स्वतः अध्यक्ष हुन्छ, ऊ न्युट्रल होस् भन्ने हिसाबले हो । तर अब हामीकहाँ जुन हिसाबले न्युट्रल र तयार गर्ने हिसाबमा अब मेरो पक्ष भनेर जब वरिष्ठले नै पम्पलेट तयार गरेपछि अनि के होला भन्नुस् त ?,’ उनले प्रश्न गरे ।

ढकालले वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा एउटा निश्चित समूहलाई च्यापेर पम्पलेट नै छापेर हिँडेको आरोप लगाए । यसले महासंघभित्रको आन्तरिक लोकतन्त्र र आगामी नेतृत्वको निष्पक्षतामाथि ठूलो संशय पैदा गरेको उनले बताए ।

अहिलेसम्म आफूलाई सर्वसम्मतिको पक्षधर र अभिभावकीय भूमिकामा राख्दै आएका ढकालले यदि भावी अध्यक्षले गुटबन्दी नत्यागे आफू पनि चुप लागेर नबस्ने चेतावनी दिए । उनले भावी अध्यक्ष श्रेष्ठलाई एउटा पक्षको नेता नबन्न आग्रह गर्दै यदि त्यसो भएमा आफूले पनि अर्को पक्षको खुलेर समर्थन गर्ने ‘अल्टिमेटम’ दिए ।

‘म अझै केही दिन सर्वसम्मतकै पक्षमा हुनेछु । तर तपाईंहरू ढुक्क हुनुहोस्, यदि उहाँले मेरै प्यानल हो भनेर भन्नुभयो भने तपाईंहरूको पक्षमा पनि म खुलेर लाग्छु,’ उनले भने ।

महासंघको निर्वाचन अब केवल साधारण सदस्य वा कार्यसमिति सदस्यहरूको मात्र लडाइँ नरहेर वर्तमान र भावी अध्यक्षबीचको प्रतिष्ठाको लडाइँसमेत बन्न सक्ने देखिएको छ । अध्यक्ष ढकालले आफ्नो तीन वर्षे कार्यकालमा महासंघले उठाएका मुख्य पाँच वटा एजेन्डाहरू पूर्ण रूपमा सफल भएको दाबी गरे । उनले व्यंग्यात्मक शैलीमा आगामी कार्यसमितिलाई अब उठाउने कुनै नयाँ एजेन्डा नै बाँकी नरहेको भन्दै आफ्नो सफलताको फेहरिस्त प्रस्तुत गरे ।

उनले भने, ‘मैले ३ वर्षअघि शपथ लिने क्रममा ५ वटा कुराहरू भनेको थिएँ । ती ५ वटै कुराहरू कम्प्लिट भएका छन् । तपाईंहरू अहिले कार्यसमितिमा आइसकेपछि, पदाधिकारी आइसकेपछि तपाईंहरूको एजेन्डा नै छैन कि हामीले उठाउने एजेन्डाहरू सबै यो टेनरमा कम्प्लिट भइसक्या छन् ।’

विशेषगरी ‘निजी क्षेत्र संरक्षण र प्रवर्द्धन रणनीति’ लाई सरकारको क्याबिनेटले पारित गरेको विषयलाई उनले आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिको रूपमा लिएका छन् । यस्तो अवस्थामा नयाँ नेतृत्वले कुन मुद्दा लिएर अगाडि बढ्ने भन्ने चुनौती रहेको उनले बताए ।

मुलुकमा करिब दुई-तिहाइको शक्तिशाली सरकार रहेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले यस्तो बेला निजी क्षेत्र विभाजित हुनु दुर्भाग्यपूर्ण हुने बताए । उनले महासंघको शक्ति त्यसको एकतामा रहेको र नेतृत्वले गुटबन्दी गर्दा सरकारसँगको ‘बार्गेनिङ पावर’ कमजोर हुने उल्लेख गरे ।

उनले भने, ‘अहिलेको सिचुएसन भनेको के हो भने २ तिहाइ करिब–करिबको सरकार गठन भएको छ । हामी कन्फर्म भएको अध्यक्ष र पदाधिकारीले मेरै प्यानल हो भनेर हामी यदि भन्छौँ भने म त एक्जिट हुने हो… तर मेरो ड्युटी के हो भने उद्योग वाणिज्य महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन सकोस् ।’

अध्यक्ष ढकालको यो मन्तव्यले निर्वाचनको अन्तिम घडीमा चुनावी समीकरण बदल्न सक्ने देखिएको छ । अञ्जन श्रेष्ठमाथि गरिएको प्रहारले उनलाई दबाबमा पारेको छ । यदि श्रेष्ठले प्यानल मोह त्यागेर तटस्थता देखाए महासंघमा सहमति हुन सक्छ । अन्यथा अध्यक्ष ढकाल आफैं अर्को गुटको नेतृत्व गर्दै चुनावी मैदानमा ओर्लिने निश्चित देखिएको छ । निर्वाचनको मुखमा अध्यक्षले आफ्नै उत्तराधिकारीलाई दिएको यो चेतावनीले महासंघको आगामी नेतृत्व कति चुनौतीपूर्ण र गुटबन्दीपूर्ण हुनेछ भन्ने प्रष्ट पारेको छ । अबको एक हप्ता नेपालको निजी क्षेत्रका लागि निकै निर्णायक हुने देखिएको छ । के महासंघले सर्वसम्मत नेतृत्व पाउला वा दुई धारको तिखो भिडन्तमा जाला? यसको उत्तर आगामी निर्वाचनको नतिजाले नै दिनेछ ।