ट्रेडमार्क दुरुपयोग विषयमा उद्योग विभागद्वारा ७ दिने स्पष्टीकरण

161
Shares

काठमाडौं । भारतको पारले एग्रो प्राइभेट लिमिटेडसहित ६ कम्पनीको ट्रेडमार्क दुरुपयोग गरेको विषयमा उद्योग विभागले ७ कम्पनीसँग ७ दिने स्पष्टीकरण सोधेको छ ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्पष्टीकरण सोधेको हो । ७ दिनभित्र लिखित स्पष्टीकरण प्राप्त नभएको अवस्थामा कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।

विभागका अनुसार फर्मान्टल मिडिया ग्रुप मिडिया लिमिटेडले रसलाइट मिडिया प्राइभेट लिमिटेड ललितपुरविरुद्ध एक र डीएआर मुभिज एण्ड फिल्म इण्डस्ट्रिज काठमाडौंविरुद्ध ट्रेडमार्क दुरुपयोगसम्बन्धी दुई वटा गरी तीन वटा उजुरी दर्ता गराएको थियो ।

यस्तै भारतको ईमामी लिमिटेड ग्रुप लिमिटेडले बाराको जितपुर सिमरास्थित गनपति वनस्पति लिमिटेडविरुद्ध एक, सियरा एलिमेन्टोस लिमिटेडले चितवनस्थित प्रनभ फूड प्रोसेसिङ्ग इण्डस्ट्रिजविरुद्ध एक, स्टार टेलिभिजन प्रोडक्सन लिमिटेडले मलेसियास्थित सिम ही प्याङविरुद्ध एक, भारतको पारले एग्रो प्राइभेट लिमिटेडले रुपन्देहीस्थित नेपाल ओदत वेभरेज प्राइभेट लिमिटेडविरुद्ध एक र डिजनी इन्टरप्राइजेज इन्कले चितवनस्थित नौलो फूड्स इन्डस्ट्रिजविरुद्ध एक वटा उजुरी दर्ता गराएको थियो ।