निजी क्षेत्रको माग अनुसार बालेन सरकारले ‘पीएसपीपी’ कार्यान्वयन गर्ने, व्यावसायिक जगत खुसी

623
Shares

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले निजी क्षेत्रको आत्मविश्वास जगाउन र लगानीको वातावरण सुधार्न ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीको ६० औं बुँदामा यस रणनीतिको घोषणा गरिएको हो ।

सरकारको यो निर्णय सार्वजनिक भएलगत्तै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यसको स्वागत गर्दै सरकारलाई धन्यवाद दिएका छन्।

सरकारले देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण तथा निजी क्षेत्रको विश्वास पुनर्स्थापना गर्ने उद्देश्यले यो रणनीति ल्याएको हो । कार्यसूचीको बुँदा नम्बर ६० मा उल्लेख भएअनुसार ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’लाई तत्काल कार्यान्वयनमा लगिनेछ ।

यस रणनीति अन्तर्गत उद्योगी व्यवसायीको भौतिक सुरक्षा र सम्पत्तिको पूर्ण संरक्षण हुनेछ भने आर्थिक पुनरुत्थान तथा झन्झटिला कानुनी र नियामकीय प्रक्रियाहरूको सरलीकरण हुनेछ । यसैगरी लगानी प्रवर्द्धन र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विशेष कार्यनीतिहरूको कार्यान्वयन गरिने उल्लेख छ ।

सरकारको कार्यसूचीमा निजी क्षेत्रले माग गर्दै आएको पीएसपीपी परेपछि महासंघ अध्यक्ष ढकालले यो कार्यलाई निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भनेका छन् । ढकालले महासंघले लामो समयदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो । यसले व्यवसायीहरूको मनोबल उच्च बनाउने र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौं ।’

ढकालले थपे, ‘यसको प्रभावकारी कार्यान्वयनबाट लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ ।’