टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा ओली भर्ना, के भएको हो ?

1.8k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा भर्ना गरिएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरअन्तर्गत कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको थियो ।

पक्राउपछि स्वास्थ्य परीक्षणका लागि उनलाई तत्काल टिचिङ अस्पताल लगिएको थियो । सुरुमा अस्पतालको ‘रेड एरिया’स्थित २७ नम्बर बेडमा राखेर स्वास्थ्य जाँच गरिएको थियो ।

त्यहाँ नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले प्रारम्भिक परीक्षण गरेको अस्पताल स्रोतले जनाएको छ। मुटु सम्बन्धी विशेषज्ञ चिकित्सकले पनि उनको स्वास्थ्य अवस्था जाँच गरेका थिए।

रगत परीक्षण, भिडियो एक्सरे तथा अन्य आवश्यक परीक्षणपछि उनलाई अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा सारेर भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेस्ट पेन’ र ‘पाल्पिटेशन’ देखिएको छ । हाल उनको मुटुको चालको निरन्तर अनुगमनका लागि इसीजी मनिटर जडान गरिएको छ ।

दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इस्यु’ का कारण थप जोखिम हुन सक्ने चिकित्सकहरूको निष्कर्षपछि विशेष निगरानीमा राखिएको बताइएको छ । मिर्गौला सम्बन्धी चिकित्सकहरूले पनि उनको स्वास्थ्य अवस्थाको नजिकबाट अनुगमन गरिरहेका छन् ।

अस्पताल स्रोतका अनुसार ५०१ नम्बर बेड विशेषगरी मृगौला प्रत्यारोपण गरिएका बिरामीलाई राखिने बेड हो। यसअघि पनि मृगौला प्रत्यारोपणपछिको उपचारका क्रममा ओलीलाई सोही बेडमा राखिएको थियो। ५०१ नम्बर बेड रहेको भवनमा सार्दा उनलाई उनकै गाडीमा लगिएको थियो।

यसैबीच, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार नै पक्राउ गरिएको छ । शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई आइतबार मात्रै अदालतमा पेस गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । त्यसअघि ओलीलाई महाराजगञ्जस्थित २ नम्बर गणमा राख्ने तयारी रहेको स्रोतले बताएको छ ।