जाँचबुझ आयोगको प्रतिवेदन: तत्कालीन आईजीपी खापुङले कसलाई गरे ११५ पटक फोन ?

581
Shares

फाइल तस्बिर

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र अन्य उच्च सुरक्षा अधिकारीहरूबीच बारम्बार फोन सम्पर्क भएको विवरण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ।

प्रतिवेदनअनुसार खापुङले सबैभन्दा धेरै सम्पर्क डीआईजी विश्व अधिकारीसँग गरेको देखिएको छ । जेनजी प्रदर्शनका बेला अधिकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए । ती दुईबीच दुई दिनमा कुल ४२ पटक फोन सम्पर्क भएको कल डिटेल्स रेकर्ड विश्लेषणबाट पुष्टि भएको आयोगले जनाएको छ ।

त्यस्तै, खापुङले कार्य विभागका तत्कालीन एआईजी सिद्धिविक्रम शाहसँग २८ पटक सम्पर्क गरेका थिए । कार्य विभागका एआईजीले दैनिक घटनाक्रम तथा हुलदङ्गा नियन्त्रणको नेतृत्व गर्ने जिम्मेवारी सम्हाल्ने गर्छन् ।

भदौ २४ मा उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका एआईजी दानबहादुर कार्कीसँग ४ पटक, तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग ३ पटक र गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टसँग पनि सोही दिन ३ पटक सम्पर्क भएको विवरण प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, भदौ २४ मा तत्कालीन सभामुख देवराज घिमिरेसँग १ पटक सम्पर्क भएको देखिन्छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम रानासँग भने दुई दिनमा ११ पटक आपसी सम्पर्क भएको आयोगले जनाएको छ ।

पूर्वगृहमन्त्री रमेश लेखकसँग दुई दिनमा ८ पटक र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग २ पटक सम्पर्क भएको भेटिएको छ । साथै, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यसँग १ पटक र गृहसचिव गोकर्णमणि दुवाडीसँग ९ पटक सम्पर्क भएको उल्लेख छ ।

यसैबीच, प्रधानसेनापति अशोक सिग्देलसँग २ पटक सम्पर्क भएको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ ।