जेनजी प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेका ६ प्रहरीलाई सम्मानका लागि आयोगको सिफारिस

119
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनामा प्रहरी कार्यालय तथा हतियारको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरूलाई पुरस्कारका लागि सिफारिस गरिएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई सम्मानका लागि सिफारिस गरेको हो।

आयोगको प्रतिवेदनअनुसार सिफारिस हुने डीएसपीहरूमा जिल्ला प्रहरी कार्यालय कास्कीका हरिबहादुर बस्नेत, कालिमाटी प्रहरी वृत्तका मधु थापा, मालिगाउँ वृत्तका सुनील शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका चिनिमाया तामाङ, जनसेवा प्रहरी वृत्तका कृष्णकुमार चन्द तथा प्रहरी वृत्त ठिमीका नवराज ढुंगाना रहेका छन्।

त्यस्तै, आयोगले भदौ २४ गतेको प्रदर्शनका क्रममा सुरक्षामा सहयोग पुर्‍याउने दुई जना व्यवसायीलाई पनि पुरस्कारका लागि सिफारिस गरेको छ। कोटेश्वरस्थित स्वर्णिम गेष्ट हाउसका सञ्चालक शिवराज बाँडा र घडी पसल सञ्चालक गीताकुमारी साहलाई सम्मान गर्न सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ।