नेपालमा कार्यालय खोल्न विदेशी पुनर्बिमा दलालको अटेरी, निर्देशिका संशोधन गर्दै म्याद थप्दै प्राधिकरण

0
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणबाट सूचीकरण प्राप्त पुनर्बिमा दलालले २०८३ असार मसान्तभित्र शाखा तथा सम्पर्क कार्यालय खोल्नुपर्ने भएको छ ।

प्राधिकरणले बिमकको पुनर्बिमा निर्देशिका–२०८० मा दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । प्राधिकरणले संशोधन गरेको निर्देशिकाको १३ नम्बर बुँदामा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । जसमा ‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले २०८३ साल असार मसान्त भित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्ने छ,’ भन्ने व्यवस्था गरेको छ ।

हुन त यसअघि पनि, प्राधिकरणले यसै निर्देशिकाको पहिलो संशोधन गर्दै ‘प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गर्ने पुनर्बिमा दलालले २०८२ साल पुस मसान्त भित्र शाखा तथा सम्पर्क कार्यालय वा संयुक्त लगानीमा कार्यालय स्थापना गरिसक्नुपर्ने छ,’ भन्ने व्यवस्था बनाएको थियो ।

तर, तोकिएको समयमा उक्त निर्देशन कार्यान्वयन नभएपछि प्राधिकरणले फेरि निर्देशिका संशोधन गर्दै आउने वर्षको असार मसान्तसम्मका लागि म्याद थप गरेको हो ।

बिमकको पुनर्बीमा निर्देशिका २०८० अनुसार नेपाली बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीसँग पुनर्बिमा व्यवसाय गर्न चाहने विदेशी दलाल कम्पनी प्राधिकरणमा दर्ता भई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम प्राधिकरणले १० चैत २०८१ मा पहिलो पटक सूचना जारी गर्दै नेपालमा सूचीकृत विदेशी पुनर्बिमा ब्रोकर कम्पनीहरूलाई शाखा कार्यालय स्थापना गर्न पत्राचार गरेको थियो । पहिलो पटक प्राधिकरणले तीन महिनाको समयावधि दिएको थियो ।

पहिलो पटक तोकिएको समयभित्र कुनै पनि कम्पनीले नेपालमा सम्पर्क कार्यालय स्थापना नगरेपछि २०८१ असारको अन्त्यमा थप १० दिनको अवधि दिँदै दलाल कम्पनीहरूलाई पुनः पत्राचार गरिएको थियो । सो अवधिमा केही कम्पनीहरूले प्राधिकरणले पठाएको इमेलमा प्रतिक्रिया जनाए पनि कार्यालय स्थापना गरेका थिएनन्।

पहिलो सूचना जारी गर्दा कुनै पनि कम्पनीले सम्पर्क कार्यालय स्थापना नगरेपछि प्राधिकरणले दोस्रो पटक सूचना जारी गरी ६ महिनाको समयावधि प्रदान गरेको थियो । उक्त दोस्रो समयसीमामा पनि सम्पर्क कार्यालय नखोलिएपछि प्राधिकरणले निर्देशिका संशोधन गरी समय थप गरेको हो ।

निर्देशिका अनुसार विदेशी पुनर्बिमक तथा पुनर्बिमा दलाल प्राधिकरणमा सूचीकृत हुन अनिवार्य छ । सूचीकृत हुन विदेशी पुनर्बिमकले सम्बन्धित देशको नियामक निकायबाट प्राप्त पुनर्बिमकको इजाजतपत्र, उक्त इजाजतपत्र बहाल रहेको प्रमाण, इजाजतपत्र नम्बर र स्थापना मिति प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

यसका साथै इजाजतपत्र प्रदान गर्ने निकायको नाम, अद्यावधिक वित्तीय विवरण, बिमकसँग कारोबार हुने पोर्टफोलियो, कम्पनीको नाम, ठेगाना, स्थापना वर्ष, सम्पर्क नम्बर र इमेल, सम्पर्क व्यक्तिको नाम, ठेगाना, इमेल तथा सम्पर्क नम्बर, सूचीकरणका लागि बीमकको आफ्नै कर्मचारी, प्रतिनिधि वा स्वदेशी बीमकलाई प्रदान गरिएको अख्तियारनामा, रेटिङ एजेन्सीको नाम, रेटिङ प्राप्त गरेको मिति तथा रेटिङको प्रमाणपत्र समेत पेश गर्नुपर्ने व्यवस्था छ ।

पुनर्बिमा दलालको हकमा पेशागत बिमा दायित्वसम्बन्धी अद्यावधिक प्रतिलिपि पनि प्राधिकरणमा पेश गर्नुपर्नेछ । निवेदन प्राप्त भएपछि त्यस्ता विदेशी पुनर्बिमकवा पुनर्बिमा दलाललाई प्राधिकरणले सूचीकरण नम्बर प्रदान गर्नेछ । तर, एएम वेस्ट रेटिङ एजेन्सीबाट ‘ए डबल प्लस’ रेटिङ प्राप्त कम्पनीले छुट्टै अनुमति लिनुपर्ने छैन ।

एस एण्ड पि, मोडिज र फिच रेटिङ एजेन्सीबाट ‘ट्रिपल ए’ रेटिङ प्राप्त विदेशी बिमा कम्पनीहरूले पनि प्राधिकरणमा छुट्टै दर्ता हुनुपर्ने छैन । यद्यपि, त्यस्तो रेटिङ भएको तथ्य सम्बन्धित पुनर्बिमकसँग कारोबार गर्ने बिमकले प्रमाणित गर्नुपर्नेछ ।

विदेशी पुनर्बीमकले प्रत्येक वर्ष आफ्नो सूचीकरण नम्बर प्राधिकरणबाट नवीकरण गराउनुपर्नेछ । प्राधिकरणबाट सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बिमा दलालले त्यस्तो सूचीकरण नम्बर प्राप्त गरेको ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्नेछ । स्वदेशी पुनर्बिमकतथा स्वदेशी पुनर्बिमा दलालले सूचीकृत विदेशी पुनर्बिमकर पुनर्बिमा दलालसँग मात्र कारोबार गर्नुपर्नेछ । सूचीकरण नम्बर प्राप्त गरेका विदेशी पुनर्बिमकतथा पुनर्बिमा दलालहरूको सूची प्राधिकरणले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नेछ ।

बिमकले प्रत्येक आर्थिक वर्षका लागि पुनर्बिमा नीति तयार गरी आर्थिक वर्ष समाप्त हुनु अघि नै सञ्चालक समितिबाट पारित गराई लागू गर्नुपर्नेछ । नेपालभित्र प्रधान कार्यालय नरहेको विदेशी बीमकको हकमा नेपालस्थित कार्यालयले पुनर्बिमा नीति तयार गरी व्यवस्थापन समूहबाट पारित गराई लागू गर्नुपर्ने प्राधिकरणको व्यवस्था छ ।

पुनर्बिमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ मा पनि विदेशी पुनर्बिमा दलालसम्बन्धी व्यवस्था गरिएको छ । नेपाली बीमक, पुनर्बिमकतथा अन्तर्राष्ट्रिय बीमक÷पुनर्बीमकसँग पुनर्बिमा व्यवसायसम्बन्धी कारोबार गर्न इच्छुक विदेशी पुनर्बिमा दलालले समितिसमक्ष सम्पर्क वा शाखा कार्यालय खोल्न इजाजतका लागि निवेदन दिन सक्नेछन् ।

वेदन दिने दलालहरूको अन्तर्राष्ट्रिय व्यावसायिक पहुँच, प्रतिष्ठा तथा प्राधिकरणले तोकेको अन्य आवश्यक मापदण्डका आधारमा नेपालमा सम्पर्क शाखा खोल्न इजाजत दिन सकिनेछ । प्राधिकरणबाट पुनर्बिमा दलाललाई इजाजत दिने आशयपत्र प्राप्त भएपछि ब्रोकिङ कार्य सुरु गर्नुअघि नेपालको ‘क’ वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिटबापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्नेछ ।

नेपाली पुनर्बिमा दलालसँग संयुक्त रूपमा नेपालमा पुनर्बिमा दलाल संगठित संस्था स्थापना गर्न इच्छुक विदेशी पुनर्बिमा दलालले तोकिएको पूँजीको ५५ प्रतिशतसम्म शेयर हिस्सा राख्न सक्नेछन् ।

यसरी स्थापित पुनर्बिमा दलालको कार्यालयमा एक जना मुख्य व्यवस्थापक वा प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्च अधिकृतका अतिरिक्त आवश्यकताअनुसार एक जना सूचना प्रविधि विज्ञ विदेशी नागरिक राख्न सकिनेछ । अन्य कर्मचारीहरूको हकमा भने नेपाली नागरिक नै नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ ।