आफूमाथिको आक्रमण र जलेको पैसाबारे देउवाको बयानमा के छ ?

322
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले २०८२ भदौ २४ गते आफ्नै निवासमा भएको तोडफोड, आगजनी र लुटपाटलाई ‘नितान्त षड्यन्त्र’ भएको बताएका छन् ।

जेनजी घटना सम्बन्धी जाँचबुझ आयोगसमक्ष बयान दिँदै उनले उक्त घटनामा संलग्न जो–कोहीमाथि कानुनी कारबाही हुनुपर्ने उल्लेख गरेका हुन् ।

देउवाले ती दिनको घटनाबारे आफूलाई षड्यन्त्र भएको स्पष्ट लागेको तर कसले गर्‍यो भन्नेबारे जानकारी नभएको बयान दिएका छन् । ‘यो नितान्त षड्यन्त्र हो, तर कसले गर्‍यो थाहा भएन,’ उनले बयानमा उल्लेख गरेका छन् । गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक गरिएको छैन ।

प्रतिवदेनमा उल्लेख गरिए अनुसार भदौ २३ गते देउवा बूढानीलकण्ठ–२, बासुकी मार्गस्थित आफ्नै निवासमा रहेका थिए । सोही साँझ उनी बालुवाटार पुगेका थिए र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन तत्कालीन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, आफू कुनै औपचारिक बैठकमा भने सहभागी नभएको उनले स्पष्ट पारे।

भदौ २४ गते बिहान करिब १० बजे प्रदर्शनकारीहरू उनको निवासमा भेला भई नाराबाजी गरेको , सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा पनि अवस्था नियन्त्रणमा नआएको र आफूहरूमाथि हातपात भएको देउवाले बयानमा उल्लेख गरेका छन् ।

केही ‘जेनजी’ समूहका युवाहरूले सहयोग गरेपछि मात्र राति करिब १० बजेतिर सुरक्षित स्थानमा पुग्न सकेको उनले उल्लेख गरेका छन् ।

निवासमा भएको तोडफोड, आगजनी र लुटपाटबारे नेपाल प्रहरीले मुचुल्का तयार पारी विवरण संकलन गरेको भए पनि त्यसपछि कारबाहीको अवस्था के छ भन्नेबारे आफूलाई जानकारी नभएको देउवाको भनाइ छ ।

सामाजिक सञ्जालमा आफ्नो घरमा ठूलो परिमाणमा नगद फेला परेको भन्ने चर्चालाई उनले अस्वीकार गरेका छन् । मुचुल्कामा उल्लेख भएअनुसार रकम ठूलो नभएको र बाहिर आएका विवरणहरू भ्रामक तथा एआई प्रयोग गरी तयार पारिएको हुन सक्ने उनले बयानका क्रममा भनेका छन् ।

प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप भएको आरोपलाई खण्डन गर्दै देउवाले आफूले कहिल्यै पक्षपातपूर्ण हस्तक्षेप नगरेको जिकिर गरे। भदौ २३–२४ को घटनामा प्रहरीको मूल्यांकन कमजोरी हुन सक्ने भए पनि त्यसलाई राजनीतिक हस्तक्षेपसँग जोड्न नहुने उनको भनाइ छ ।