आयोगमा बालेनको बयान: जेनजीको र्‍यालीमा समर्थन थियो, आन्दोलनमा होइन

2.1k
Shares

फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले गत २३ भदौमा भएको ‘जेनजी’ को शान्तिपूर्ण र्‍यालीमा आफ्नो समर्थन रहे पनि आन्दोलनमा भने सहभागी नभएको स्पष्ट पारेका छन् ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जेनजी आन्दोलन जाँचबुझ आयोगलाई बयान दिने क्रममा उनले उक्त घटनाबारे शाहले २३ र २४ भदौमा आफू सरकारी निवास लैनचौरमै रहेको र घटनालाई शान्त पार्न भूमिका खेलेको दाबी गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएका विभिन्न विवरणहरू जनआस्था, कान्तिपुर र शिलापत्रले आफ्नो वेब संस्करणबाट सार्वजनिक गरिरहेका छन् ।

बालेनले राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानसेनापति अशोकराज सिग्देलको आग्रहमा आफूले आन्दोलनलाई मत्थर पार्न पहल गरेको बयानमा उल्लेख गरेका छन् ।

सरकारलाई ‘आतंकवादी’ शैलीको आरोप

पूर्वमेयर शाहले २४ भदौमा भएको आगजनी र धनजनको क्षतिको मुख्य कारण तत्कालीन सरकारको ‘अत्यधिक बल प्रयोग’ र ‘आतंकवादी शैली’ भएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘२४ भदौको घटना दुखद थियो । यो २३ गते सरकारले गरेको अत्यधिक बल प्रयोग र अपराधी एवं आतंकवादी क्रियाकलापको नतिजा हो ।’

शाहले आन्दोलनका क्रममा महानगरपालिकाले मानवीय र भौतिक सुरक्षामा ध्यान दिएको जिकिर गरेका छन् । व्यवसायी र रेस्टुरेन्टहरूको आग्रहमा महानगर प्रहरीले पानी वितरण गरेको र २४ भदौको आगजनी नियन्त्रणका लागि समयमै दमकल पठाएर महानगरभित्रका संरचना जोगाएको उनले बताएका छन् । साथै, घटनापछि घाइते र मृतकका परिवारलाई महानगरका विभिन्न विभागसँग समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराएको समेत उनले बयानमा उल्लेख गरेका छन् ।

आयोगले शाहलाई विगतमा सामाजिक सञ्जालमा लेखेका विवादास्पद अभिव्यक्तिबारे पनि प्रश्न सोधेको थियो । त्यसको जवाफमा उनले आफ्नो फेसबुक पोस्टले उल्टै अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गरेको दाबी गरे ।

सिंहदरबार जलाउने सन्दर्भमा चर्चामा आएको पुरानो पोस्टबारे स्पष्टीकरण दिँदै उनले भने, ‘काठमाडौंको फोहोर बोक्ने गाडी बन्चरेडाँडा लैजाँदा अनावश्यक रूपमा रोकिएपछि त्यसको विरोधस्वरूप ‘मेटाफोर’ (प्रतीकात्मक) रूपमा अभिव्यक्ति दिएको थिएँ, त्यसमा ‘जलाई दिन्छु’ भन्ने शब्द प्रयोग भएको थिएन ।’ उनले जनधनको रक्षाका लागि आफूले सामाजिक सञ्जालमार्फत सधैं संयमता अपनाउन अपिल गरेको समेत जिकिर गरे ।