
काठमाडौं । नेपालका प्राकृतिक स्रोतहरूलाई विश्वकै ‘प्रिमियम’ र ‘लक्जरी’ बजारमा स्थापित गर्ने उद्देश्यका साथ सूर्य नेपालले एक महत्वाकांक्षी पहल ‘हिमालयन ट्रेजर्स’ सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत पहिलो उत्पादनका रूपमा उच्चस्तरीय हिमाली चेस्टनट मह ‘मारानी’ सार्वजनिक गरिएको छ, जसले नेपाली कृषि उपजलाई ‘एग्रो–लक्जरी’ को नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ ।
हालै संयुक्त राज्य अमेरिकाको प्रिमियम बजारलाई लक्षित गरी सार्वजनिक गरिएको यो मह विश्वकै प्रसिद्ध अनलाइन बजार अमेजनमा उपलब्ध भइसकेको छ ।
१ किलोको ५० हजार रुपैयाँ
अमेजनमा उपलब्ध विवरणअनुसार ‘मारानी चेस्टनट हनी’ को २५० ग्रामको जारलाई ८३ अमेरिकी डलर तोकिएको छ । यस हिसाबले १ किलोग्राम महको मूल्य ३३२ डलर (बुधबारको विनिमयदर अनुसार करिब ५० हजार रुपैयाँ) ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले यसलाई नेपालको आर्थिक विकासको एउटा बलियो मोडेलका रूपमा व्याख्या गरेका छन् । उनले आफ्नो गृहजिल्ला तनहुको मह विश्वबजारमा उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘तनहुँको ‘कटुस’ वनबाट निकालिएको विशेष मह हिजोदेखि विश्व बजारमा उपलब्ध छ । हाम्रा नेपाली उत्पादनलाई विशिष्ट प्रशोधन, परीक्षण र बजारीकरण गर्ने सूर्य नेपालको ‘हिमालयन ट्रेजर’ ब्रान्डलाई धन्यवाद । उच्चस्तरीय उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र दुनियाँको अगाडि नेपालको शान राख्ने-यही हो रास्वपाको आगामी बाटो !’

‘मारानी गोल्ड’: के छ यसको विशेषता ?
सूर्य नेपालका अनुसार ‘मारानी गोल्ड’ केवल मह मात्र होइन, यो नेपालको हिमाली ‘टेरोइर’ को आत्मा हो । यसको विशिष्टताका पछाडि मुख्य प्राविधिक कारणहरू रहेको कम्पनीले जनाएको छ ।
१. रैथाने मौरी र दुर्लभ संकलन: यो मह व्यावसायिक रूपमा पालिने विदेशी मौरीबाट नभई नेपालको रैथाने ‘एपिस सेराना’ मौरीबाट संकलन गरिन्छ । यी मौरीहरूले चुनौतीपूर्ण हिमाली भूगोलका जंगली फूलहरूबाट दुर्लभ रस संकलन गर्छन् ।
२. चेस्टनट (कटुस) को स्वाद: यो मह विशेष गरी तनहुँ र आसपासका उच्च पहाडी क्षेत्रका जंगली चेस्टनट वनबाट उत्पादन गरिन्छ । यसको स्वाद अन्य महजस्तो साधारण गुलियो मात्र नभई अलि कसिलो, ओखरजस्तो र हल्का तितो–गुलियो हुन्छ ।
३. गाढा एम्बर रंग: यसको रंग गहिरो खैरो वा गाढा एम्बर हुन्छ, जुन यसमा भएको उच्च खनिज तत्वको प्रतीक हो ।
प्रशोधन प्रक्रिया: ‘द मेकिङ अफ मारानी’
सूर्य नेपालले मारानीको उत्पादनमा ‘सोर्स–टु–सिल’प्रणाली अपनाएको जनाएको छ । सूर्य नेपालकाअनुसार यसको निर्माण यात्रा निकै कठिन छ ।
कोल्ड-प्रेस र ‘रअ’ अवस्था: महलाई तताउँदा यसमा भएका प्राकृतिक इन्जाइम र पोषक तत्वहरू नष्ट हुने भएकाले मारानीलाई ‘कोल्ड–प्रेस’ गरिन्छ । यसलाई कुनै पनि उच्च तापक्रममा नतताई प्राकृतिक ‘रअ’ अवस्थामै प्याकेजिङ गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी गौरव तयालका अनुसार, ‘मारानी’ नाम प्राप्त गर्न प्रत्येक ब्याचले कडा परीक्षण प्रक्रिया पार गर्नुपर्छ । सयौं मापदण्डमा परीक्षण गर्दा अधिकांश उत्पादनहरू मापदण्ड नपुगेर अस्वीकृत हुन्छन् । केवल उत्कृष्टतम गुणस्तरको मह मात्रै ‘मारानी’ बन्छ ।
महलाई धेरै मेसिनरी फिल्टर नगरी केवल ठूला अशुद्धिहरू मात्र हटाइन्छ, ताकि यसमा हुनुपर्ने प्राकृतिक ‘पोलन’ सुरक्षित रहोस्।
उपभोक्ताको विश्वास जित्न कम्पनीले आधुनिक प्रविधिको प्रयोग गरेको छ । प्रत्येक ‘मारानी’ जारमा एउटा विशिष्ट क्युआर कोड हुन्छ । ब्लकचेन प्रविधिमार्फत उपभोक्ताले सो कोड स्क्यान गरी मह कुन घारबाट आयो, यसको प्रयोगशाला परीक्षण रिपोर्ट के छ र प्याकेजिङ कहिले भयो भन्ने विस्तृत विवरण डिजिटल रूपमा हेर्न सक्छन् ।

पोषण र स्वास्थ्य लाभ: एक ‘सुपरफूड’
वेबसाइटमा मारानीलाई पोषणको भण्डार भनिएको छ । यसमा पोटासियम, म्याग्नेसियम र फलाम जस्ता खनिजहरू प्रचुर मात्रामा छन्।
शक्तिशाली एन्टि–अक्सिडेन्ट ‘पोलिफेनोल्स’ ले भरिपूर्ण यो महले रोग प्रतिरोधात्मक क्षमता बढाउन र बुढ्यौली रोक्न मद्दत गर्ने कम्पनीको दाबी छ ।
यसको ‘ग्लाईसेमिक इन्डेक्स’ कम हुने भएकाले यो स्वास्थ्यका लागि अन्य चिनीजन्य पदार्थभन्दा निकै सुरक्षित मानिन्छ ।
कम्पनीले अमेरिकी बजार रोज्नुको पछाडि न्युजिल्यान्डको प्रसिद्ध ‘मनुका’महजस्ता अन्तर्राष्ट्रिय ब्रान्डसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्छ भन्ने सन्देश दिनु भएको जनाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनका जटिल नियमहरू पार गर्दै अमेजनमा बिक्री सुरु हुनुले नेपालका अन्य कृषि उपजका लागिसमेत ढोका खोलेको कम्पनीले जनाएको छ ।
‘हिमालयन ट्रेजर्स’ पहलले भविष्यमा महबाहेक नेपालका अन्य बहुमूल्य जडीबुटी र प्राकृतिक स्रोतहरूलाई पनि यसैगरी उच्च मूल्यमा विश्व बजारमा स्थापित गर्ने लक्ष्य राखेको छ । ‘हामीले अमेरिका पठाउने प्रत्येक जारले नेपालको प्रतिष्ठा बोकेको छ, त्यसैले हामीले केवल उत्कृष्टतम उत्पादन मात्र पठाएका छौं,’ प्रबन्ध निर्देशक गौरव तयाल भन्छन् ।
यो प्रयासले विगतमा थोक मा निर्यात भएर आफ्नो मौलिक पहिचान गुमाउँदै आएका नेपाली उत्पादनहरूलाई अब ‘मेड इन नेपाल’ को गर्विलो र विलासी ब्रान्डका रूपमा विश्व मञ्चमा चिनाएको छ ।








प्रतिक्रिया