विश्वप्रसिद्ध अस्ट्रेलियन उलमार्कसंग सहकार्य गरी नेपालले नयाँ तयारी पोशाक उत्पादन गर्ने

77
Shares

विश्वप्रसिद्ध अस्ट्रेलियन उलमार्कसंग सहकार्य गरी नेपालले नयाँ तयारी पोशाक उत्पादन गर्ने

काठमाडौं । अस्ट्रेलियाको विश्वप्रसिद्ध ब्रान्ड उल मार्कसंग सहकार्य गरी नेपालमा उच्च गुणस्तरको नयाँ तयारी पोशाक उत्पादन हुने भएको छ ।

नेपाल तयारी पोशाक उद्योग संघको सहकार्यमा उलमार्क कम्पनी(अस्ट्रेलिया) ले आइतबार साँझ काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

नेपाली तयारी पोशाक उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले उल अन्तर्दृष्टि र नवीनताहरू (उल इन्साइटस एण्ड इन्नोभेसन) विषयक कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

संघका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाकको क्षेत्रमा ठूलो भूमिका खेलेको उलमार्कसंग सहकार्य गरी नेपाली पोशाक उद्योगले उत्पादन गर्ने उच्च गुणस्तरको पोशाकको ठूलो अन्तराष्ट्रिय बजार बढ्ने जानकारी दिए।

पाण्डेले उलमार्कले उत्पादन गर्ने भेडाको उच्च गुणस्तरको उलको कच्चा पदार्थ आयात गरी भ्यालु अडिसन थप गरी तयार पारिएको पोशाकको विश्व बजारमा ठूलो मांग रहेको जानकारी दिए ।

पछिल्लो ६ महिनाको बजार अध्ययन पश्चात् उलमार्क तयारी पोशाक उद्योग संघसंग सहकार्य गर्न तयार भएको हो ।

कार्यक्रममार्फत मेरिनो उल प्रयोग गरी ब्लेजर, ट्राउजर लगायतका उच्च गुणस्तरीय फाइन उल उत्पादन विकास गर्ने तथा नयाँ व्यावसायिक अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

उलमार्कको नेपालस्थित कन्ट्री म्यानेजर अजय प्रधानले नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जानकारी दिए ।

उनका अनुसार उलमार्कले विश्वभरको ९ सय ग्लोवल पार्टनरसँग सहकार्य गरी काम गरी रहेको छ। तयारी पोशाकमा नयाँ विश्वस्तरीय ब्रान्ड बनाउन नेपालको लागि ठूलो अवसर आएको उनले जानकारी दिए ।

अस्ट्रेलियाले २ करोड २० लाख भेडाबाट प्रति वर्ष ३० करोड किलो उल उत्पादन गर्दै आएको छ। ६० हजार भेडा पालक किसानमर्फत यो उल उत्पादन हुँदै आएको छ ।

उत्पादित उलमध्ये झण्डै ९८ ५ ग्लोवल मार्केटमा निर्यात हुन्छ भने सबै भन्दा ठूलो खरिदकर्ता चीनले ७६ ५ खरिद गर्छ ।

प्रधानका अनुसार संघमा आबद्ध उद्योगसँग सहकार्यमा काम गर्नेछ। उलमार्कको कच्चा पदार्थबाट निर्माण भएको तयारी पोशाक विश्व बजारमा निक्कै लगजरियस र महँगो मानिन्छ।

कार्यक्रममा उद्योगी, व्यवसायी, डिजाइनर तथा सम्बन्धित सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार यो कार्यक्रमले नेपाली तयारी पोशाक उद्योगलाई उच्च मूल्यका उल उत्पादनतर्फ रूपान्तरण गर्न सहयोग पुर्‍याउनेछ। साथै, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय उत्पादन विकासका लागि प्रविधि, डिजाइन र बजार प्रवृत्तिबारे जानकारी आदान–प्रदान हुने बताइएको छ।

नेपालमा हालसम्म सीमित मात्रामा विकास भएको फाइन उल उत्पादन क्षेत्रलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल ब्रान्ड स्थापित गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।

द उलमार्क कम्पनीले भारतीय उपमहाद्वीपमा आफ्नो प्रभाव विस्तार गर्दै ऊन उद्योगको विकास, अनुसन्धान र बजार प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ ।

संस्थाले विशेषगरी भारत, बङ्गलादेश र श्रीलङ्कामा उल उद्योगसँग सम्बन्धित साझेदारी विस्तार गर्दै नयाँ सम्भावनाहरू पहिचान गरिरहेको छ।

द उलमार्क कम्पनीले भारतमा ५० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएको छ। यस अवधिमा संस्थाले त्यहाँको वस्त्र उद्योग र अर्थतन्त्रमा ठूलो भूमिका खेलेको बताईएको छ ।

उल आपूर्ति श्रृंखलाका प्रारम्भिक प्रशोधनकर्तादेखि स्पिनर, बुनकर, निटर, ब्रान्ड तथा खुद्रा विक्रेतासम्म विभिन्न चरणमा साझेदारी गर्दै आएको कम्पनीले शिक्षा, अनुसन्धान तथा विकास र मेरिनो उलको बजार प्रवर्द्धनमा विशेष ध्यान दिएको छ।

भारत अष्ट्रेलियाली उलको शीर्ष तीन आयातकर्ता तथा प्रशोधनकर्ता मुलुकमध्ये एक हो। हाल त्यहाँ १०० भन्दा बढी सप्लाई चेन साझेदारहरू सक्रिय रहेका छन्, जसमा शैक्षिक संस्था, उत्पादक, निर्यातकर्ता, डिजाइनर र व्यापारिक निकायहरू समावेश छन्।