बागमती मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेट: के भयो कुराकानी ?


काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल को प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटगरी अटोमोवाइल क्षेत्रका विविध विषयमा छलफल गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको टोलीले आइतबार (चैत्र ९) मुख्यमन्त्री निवासमा भेटवार्ता गरेको हो।

भेटका क्रममा मुख्यमन्त्री बानियाँले नाडाको नयाँ कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना दिँदै यसको सफल कार्यकालको कामना गरे। उनले ५० वर्षको इतिहास बोकेको नाडाले विभिन्न शासन व्यवस्थाको अनुभव हासिल गरेको उल्लेख गर्दै संस्थाको प्रशंसा गरे।

मुख्यमन्त्री बानियाँले देशका करिब ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमै दर्ता हुने गरेको उल्लेख गर्दै राजधानी क्षेत्रमा ट्राफिक र पार्किङ समस्या जटिल बन्दै गएको बताए। ती समस्याको समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको उनले बताए। साथै, आवश्यक जनशक्ति उत्पादन, रोजगारी सिर्जना र सवारी साधनका लागि ट्रायल सेन्टर सञ्चालनजस्ता विषयमा पनि सहकार्य गर्न सकिने उनले बताए।

अध्यक्ष उप्रेतीले नाडामा सातै प्रदेशका गरी २ हजार ८ सय ८३ सदस्य कम्पनी आवद्ध रहेको जानकारी दिए। उनले नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको र वार्षिक करिब ५ हजार जनशक्तिको आवश्यकता पर्ने बताए। नाडाले प्रदेश सरकारसँग सहकार्यका सम्भावित क्षेत्र पहिचान गरी मोडालिटी तयार गरेर पेश गर्ने उनले बताए।

कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अटोमोवाइल क्षेत्रले प्रतिभा पलायन रोक्न प्रयास गरिरहेको बताए। उनले नाडाले सीपमूलक तालिम सञ्चालन गरिरहेको र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए।

नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेकाले सोहीअनुसार दक्ष जनशक्ति उत्पादन चुनौतीपूर्ण रहेको बताए। उनले नाडाले परिष्कृत पाठ्यक्रम तयार गरिरहेको र तालिम सञ्चालनका लागि स्रोतसाधनसँगै दक्ष प्रशिक्षकको अभाव रहेको बताए।

भेटमा नाडाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको समेत सहभागिता रहेको थियो।