
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले प्रतिनिधिसभा निर्वाचनका क्रममा सवा १९ लाख रुपैयाँ खर्च गरेका छन्।
उनले सोमबार निर्वाचन आयोगमा पेश गरेको चुनावी खर्च प्रतिवेदनमा कुल १९ लाख १८ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।
ढकालका अनुसार चुनावी सहयोगका लागि सार्वजनिक गरिएको बैंक खातामा कुल २२ लाख १ हजार रुपैयाँ संकलन भएको थियो । उक्त रकममध्ये खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार रुपैयाँ गुल्मी जिल्लाको विकास कार्यमा खर्च गरिने उनको भनाइ छ ।
गुल्मी क्षेत्र नम्बर–१ बाट निर्वाचित ढकालले सबैभन्दा बढी रकम कार्यालय सञ्चालनमा खर्च गरेका छन्, जसमा ६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै सवारी साधन तथा इन्धनमा ३ लाख १ हजार ९ सय रुपैयाँ, बुथ प्रतिनिधि परिचालनमा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी, खाना तथा खाजामा १ लाख ८६ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्री खरिदमा १ लाख ६९ हजार रुपैयाँ, सञ्चार खर्चमा १ लाख ४० हजार रुपैयाँ र मतदाता शिक्षामा ७० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ।








प्रतिक्रिया