
काठमाडौं । नेपालमा टोयटा ब्रान्डको गाडी बेच्ने युनाइटेड ट्रेडर्स सिन्डिकेटले ६ महिनामै १८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको कारोबारबाट १८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
चालु आवमा गत आवको जस्तै गाडीको व्यापार बढेकाले नाफा बढेको हो । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ३ अर्ब ३९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आव (सन् २०२५)मा ५ अर्ब ५० करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने अघिल्लो आव अर्थात् सन् २०२४ मा ३ अर्ब २४ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार गत आवमा ६७ प्रतिशतले बढेकामा यो वर्ष पनि भारी मात्राले बढ्ने अनुमान गरिएको छ ।
गत आवमा प्यासेन्जर र कमर्सियल दुवै प्रकारका गाडीको माग बढ्दा व्यापार उल्लेख्य बढेको थियो।
कम्पनीले गत आवमा २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।सन् २०२४ मा ७ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । गत आवमा कम्पनीको कुल ऋण १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ थियो । उक्त ऋणले गर्दा व्यापार विस्तारका बाबजुद बाह्य ऋणमा सिमित निर्भरता रहेको रेटिङले संकेत दिएको छ ।
सन् १९७१ मा स्थापना भएको कम्पनी नेपालको लागि टोयटा ब्रान्डको आधिकारिक बिक्रेता हो । कम्पनीले सन् १९६७ देखि नै टोयटा ब्रान्डको सवारी साधन, स्पेयर पार्टस् र सर्भिसको सेवा प्रदान गर्दै आएको छ । कम्पनीको देशभर १० वटा मुख्य सहरमा आफ्नो डिलर छन् । कम्पनीका अनुसार काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, विराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज र झापा गरी १० स्थानबाट कारोबार हुँदै आएको छ ।
त्यसैगरी, कम्पनीको तीन वटा आफ्नै शोरुम छन् । जसमा एउटा शोरुम सवारी साधनको हो भने दुई वटा शोरुम स्पेयर पार्टस्को छन् ।
कम्पनीमा सुरज वैद्यको ५० प्रतिशत, रितुसिंह वैद्यको ३० प्रतिशत, सुर्यान्स वैद्यको १० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत स्वामित्व छ । वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिजद्वारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९७ करोड ३८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ७६ करोड रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया