नेपालमा इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ भित्रियो


काठमाडौं । नेपालमा इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ भित्रिएको छ । व्यावसायिक घराना वैद्य अर्गनाइजेशन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेसले दुईपांग्रे सवारी साधनको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउँदै प्रसिद्ध इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’सँग आधिकारिक साझेदारीको घोषणा गरेको छ ।

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरकका रूपमा करिब पाँच दशक लामो व्यावसायिक अनुभव र विश्वसनीयता कमाएको वैद्य अर्गनाइजेशनले अब दुईपांग्रे बजारमा पनि आक्रामक विस्तार सुरु गरेको छ । चारपांग्रे सवारीतर्फ सफल इतिहास बनाएको यस समूहले पछिल्लो समय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ लाई नेपाली बजारमा भित्र्याएर उल्लेख्य सफलता हासिल गरिसकेको छ । एथरको आधुनिक प्रविधि र उच्च प्रदर्शनले ग्राहकको मन जित्न सफल भएपछि वैद्य अर्गनाइजेशनले अर्को ठूलो कदमका रूपमा मोर्बिडेलीलाई नेपाल ल्याएको हो ।

इटालीको गौरवशाली रेसिङ इतिहास बोकेको मोर्बिडेली ब्रान्ड विश्वभर यसको प्रिमियम डिजाइन र शक्तिशाली इन्जिनका लागि परिचित छ । नेपाली युवा तथा बाइक प्रेमीहरूको चाहनालाई मध्यनजर गर्दै यो ब्रान्डले उच्चस्तरीय राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

मोर्बिडेलीमार्फत वैद्य अर्गनाइजेशनले नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ । कम्पनीले निकट भविष्यमा विभिन्न नयाँ मोडेलहरू सार्वजनिक गर्ने र देशव्यापी रूपमा आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ ।

विश्वव्यापी रूपमा ‘कीवे ग्रुप’ अन्तर्गत सञ्चालित मोर्बिडेली, बेनेली र बेन्डाजस्ता प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डहरूसँगै एउटै छातामुनि रहेको छ । यो साझेदारीसँगै नेपाली मोटरसाइकल प्रेमीहरूले विश्वस्तरीय इटालियन प्रविधिको स्वाद पाउने अपेक्षा गरिएको छ ।