
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदहरूलाई मन्त्री नबनाउने भएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाई बहुमत पाएको रास्वपाले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूलाई मात्र मन्त्रीमण्डलमा पठाउने भएको हो ।
१८२ सिटसहित एकल सरकार गठन गर्न लागेकाले मन्त्रिमण्डलमा रास्वपाकै सांसदमात्र हुनेछन् । सहमति र पूर्वघोषणा अनुसार वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्नेछन् । शाहको मन्त्रीमण्डलमा प्रत्यक्ष सांसदहरूको मात्र सहभागिता हुने एक नेताले बताए ।
‘देशभर चुनाव जित्नुभएका १२५ सांसद हुनुहुन्छ । उहाँहरू मध्ये धेरै जना सम्बन्धित विषयमा विज्ञ हुनुहुन्छ,’ ती नेताले भने, ‘प्रत्यक्षतर्फका सांसद हुँदाहुँदै समानुपातिकबाट आएकाहरूलाई मन्त्री बनाउँदा पार्टीभित्रै असन्तुष्टि हुने र सार्वजनिक रूपमा पनि आलोचना हुन सक्छ ।’ समानुपातिक सांसदहरूलाई पार्टी संगठन तथा संसदीय काममा मात्र केन्द्रित गर्ने तयारी छ ।
रास्वपाले आफ्नो छवि सुधार गर्न र ‘मेरिटोक्रेसी’ को साथै ‘जनमतको प्रत्यक्ष कदर’ लाई मुख्य आधार बनाउन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ ।
२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले २१ सिट जित्दा समानुपातिक सांसदहरू डोलप्रसाद अर्याल र सुमना श्रेष्ठलाई मन्त्री बनाउँदा पार्टीभित्र ‘प्रत्यक्ष निर्वाचितलाई उपेक्षा गरिएको’ भन्दै असन्तुष्टि सुनिएको थियो । अब भने जनताबाट प्रत्यक्ष अनुमोदित भएका अनुहारलाई सरकारमा पठाएर कार्यसम्पादन प्रभावकारी बनाउने रणनीति रास्वपाको छ ।
समानुपातिक सांसदहरूलाई मन्त्री नबनाई संसदीय समितिको सभापति वा पार्टीको संगठन विभागमा महत्वपूर्ण जिम्मेवारी दिँदा पार्टीको संगठन पनि बलियो हुने र सरकारमा जानेहरूले जनताको प्रत्यक्ष म्यान्डेटको सम्मान गर्ने रास्वपाको बुझाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सांसदको शपथपछि मात्र चैत १३ गते प्रधानमन्त्री नियुक्त हुँदैछन् । चैत १२ गते प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको सपथ तय भएकामा त्यसपछि मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया चालिने भएको हो ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमतसहित १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रियालाई तीव्रता दिएको छ । बिहीबार काठमाडौंको एक होटलमा बसेको रास्वपा शीर्ष नेताहरूको बैठकले आगामी चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउने गरी आन्तरिक तयारी अघि बढाएको हो ।
बैठकले निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेर प्रतिवेन राष्ट्रपतिलाई बुझाएसँगै सरकारको खाका र शक्ति बाँडफाँटबारे प्रारम्भिक छलफल गरेको छ ।
रास्वपाले निर्वाचन अघि नै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । करिब दुई–तिहाइ मत प्राप्त गरेको रास्वपाले बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाउने तयारी गरेको छ । स्रोतका अनुसार सर्वसम्मत रूपमा बालेनलाई संसदीय दलको नेता बनाउने पार्टीको तयारी छ ।
नयाँ सरकार गठनको चर्चासँगै मन्त्रिमण्डलमा को-को सहभागी होलान् भन्ने चासो चौतर्फी बढेको छ । रास्वपा स्रोतका अनुसार चैत १२ गते सांसदहरूको शपथ सकिएपछि मन्त्रीहरूको नाम टुंगो लाग्नेछ । यद्यपि उपसभापती डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने पक्का छ । रास्वपा सभापति लामिछानेले चुनावअघि नै वाग्लेलाई बजेट लेख्न सुरू गर्न भनेका थिए । उपसभापति डा. वाग्ले अर्थमन्त्री बन्ने करिब पक्का हुँदा अर्का उपसभापति डीपी अर्याल गृहमन्त्री बन्ने चर्चा छ ।
‘१२ गतेको शपथपछि अन्य प्रक्रिया अघि बढ्छन् । मन्त्रिमण्डलको आकार र व्यक्तिको विषयमा छलफल भइरहेको छ, तर अहिलेसम्म कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन,’ एक शीर्ष नेता भने । स्रोतका अनुसार रास्वपाले विज्ञता र कार्यक्षमताका आधारमा मन्त्रीहरू चयन गर्ने मापदण्ड बनाएको छ ।
संघीय संसद् सचिवालयले चैत १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरिसकेको छ । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको मल्टिपर्पस हलमा २७४ जना सांसदलाई शपथ खुवाइनेछ । त्यसअघि सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिनेछन् । केसीले अन्य सांसदहरूलाई शपथ गराउनेछन् ।
यता चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने गरी तयारी गरिएको छ ।










प्रतिक्रिया