
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेपछि नैतिकताका आधारमा सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा ‘प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रारम्भिक समीक्षा’ प्रतिवेदन पेस गर्दै उपसभापति शर्माले नेतृत्व परिवर्तन भएको ५० दिनमै निर्वाचनको परिणामलाई लिएर राजीनामा दिनु न्यायसंगत नहुने तर्क गरे । प्रतिवेदनमा ‘पराजित भइरहँदा पनि’ कांग्रेस किन नआतिएर यही नेतृत्वमा अघि बढ्नुपर्छ भन्ने ७ वटा मुख्य कारणहरू औँल्याइएको छ:
उपसभापति शर्माले प्रतिवेदनमा भनेका छन्, ‘राजनीतिमा १०० दिनको ‘हनिमुन पिरियड’ भनिन्छ, तर ५० दिनमै कसैको कार्यक्षमताको अन्तिम परीक्षण हुनै सक्दैन। त्यसैले प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने कमान्ड नछोड्न सभापतिलाई आग्रह गर्दै यो बैठक राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’
राजीनामा अस्वीकृत गर्नुपर्नेबारे विश्वप्रकाशले उल्लेख गरेको ७ बुँदा
१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मूल नीतिको विजय भएको छ । कांग्रेसले अङ्गीकार गरेको राजनैतिक र आर्थिक नीतिका पछिल्तिर पुराना नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थव्यवस्था अबको नेपालमा सबैको साझा मूलमार्ग बन्न पुगेको छ ।
२. नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ । प्रतिपक्षी बेन्च जिम्मेवार ढङ्गले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिकपद्धतिको सुदृढीकरणलाई पुग्नेछ । राम्रा कुरालाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ साथ, खराबीमा खरो विमति काग्रेसको रहनेछ ।
३) परिस्थितिको पराजय हुँदा विकास पनि देशभर पार्टीपङ्क्ती हल्लिएको छैन । दृढ ढङ्गले अघि बढेर नयाँ अत्यन्तै सकारात्मक गर्न सकिन्छ भन्ने ऊर्जा आम पार्टी सदस्यमा देखिएको छ ।
४) विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा ऊर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो । अतः पराजय व्यहोरेको भए पनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको छ ।
५ प्रतिकुल अवस्था बिच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होइन । तर परिवर्तनको सन्देशले पार्टी पङ्क्तिमा ऊर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ । पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।
६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहे पनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठुलो पङ्क्तिमा ’पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुर्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभीष्ट पनि हो ।
७) बर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रूपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगअब नयाँ ढङ्गले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पङ्क्तिमा पुर्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन ऊर्जाले हामी अग्रसर हुनुन्छ ।










प्रतिक्रिया