यी हुन् उपसभापति विश्वप्रकाशले बैठकमा पेस गरेको कांग्रेस हार्नुका २७ कारण

392
Shares

काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको हारको प्रारम्भिक समीक्षा गरेको छ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले १४ पाना लामो प्रारम्भिक प्रतिवेदन पेस गरे ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिटमा खुम्चिएपछि बसेको बैठकमा शर्माले कांग्रेस पराजय पछाडि मुख्य २७ वटा कारण औँल्याएको छ।

हारका मुख्य कारणहरू: नीतिगतदेखि प्राविधिकसम्म

प्रतिवेदनमा कांग्रेसले हारका लागि बाह्य परिस्थितिभन्दा पनि आन्तरिक कमजोरी र बदलिँदो जनमतलाई बुझ्न नसक्नुलाई मुख्य जिम्मेवार ठहर्‍याएको छ। समीक्षाका मुख्य बुँदाहरू यसप्रकार छन्:

परिमार्जनमा ढिलाइ र पुरानै अनुहारको दबदबा: नयाँ संविधानपछि नागरिकले राजनीतिमा नयाँपन खोजे पनि कांग्रेसले आफूलाई बदल्न नसकेको प्रतिवेदनमा उल्लेख छ। “सरकार नयाँ तर प्रधानमन्त्री पुरानै” हुने क्रमले मतदातामा ‘इरिटेसन’ पैदा गरेको र नेतृत्वप्रति विकर्षण बढाएको ठम्याइ छ।

गठबन्धनको नकारात्मक असर: कम्युनिष्ट घटकहरूसँगको गठबन्धनले पार्टी पङ्क्तिमा असन्तुष्टि पैदा गरेको र नागरिकमा ‘गठबन्धन’ शब्द नै अलोकप्रिय बनेको प्रतिवेदनमा उल्लेख छ। यसले कांग्रेसको आफ्नै मौलिक पहिचानमा समेत आँच पुर्‍याएको विश्लेषण गरिएको छ।

‘साइलेन्स किल्ड’ र ‘स्याबोटेज’: पार्टीभित्रैका केही नेताहरूले चुनावमा असहयोग गरेको (मौन बसेर हराउने रणनीति) र कतिपय ठाउँमा सक्रिय रूपमै अन्तर्घात (स्याबोटेज) गरेको प्रतिवेदनको गम्भीर दाबी छ। यसलाई ‘अनुशासनको दायरामा ल्याउनुपर्ने’ विषयका रूपमा उठाइएको छ।

पपुलिज्म (लोकप्रियतावाद) र सामाजिक सञ्जाल: पछिल्लो समय विश्वव्यापी रूपमा बढेको पपुलिज्मको लहर र सामाजिक सञ्जालको ‘एल्गोरिदम’ले सिर्जना गरेको भाष्यलाई कांग्रेसले चिर्न नसकेको स्वीकार गरिएको छ। “पुरानो सबै खराब” भन्ने न्यारेटिभले नयाँ पुस्तालाई प्रभावित पारेको प्रतिवेदनमा उल्लेख छ।

भ्रष्टाचार र सुशासनको अभाव: नक्कली भुटानी शरणार्थी प्रकरणदेखि टेरामक्ससम्मका विषयमा पार्टीका नेताहरू मुछिनु र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्नुलाई हारको एक प्रमुख कारण मानिएको छ।

३५ वर्षको भाष्य चिर्न असफलता: “३५ वर्षमा देशमा केही भएन” भन्ने विपक्षीको कडा प्रचारलाई कांग्रेसले आफ्ना उपलब्धिहरू (शिक्षा, स्वास्थ्य, पूर्वाधारमा भएका प्रगति) बुझाएर चिर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रशासनिक ढिलासुस्ती र डेलिभरीमा कमजोरी: मलको अभाव, उखु किसानको भुक्तानीमा ढिलाइ र कर्मचारीतन्त्रको झन्झटिलो प्रक्रियाले नागरिकमा आक्रोश बढाएको र त्यसको मूल्य चुनावमा चुकाउनुपरेको कांग्रेसको निष्कर्ष छ।

हारका २७ कारण

१) परिमार्जनमा गम्भीर नबन्नु: नयाँ संविधानपछि नागरिकले राजनीतिमा नयाँ शैली र नयाँपन खोजेका थिए, तर कांग्रेसले आफूलाई सोही अनुरूप परिमार्जन गर्न सकेन।

२) स्थिर सरकार नपाउनुको असन्तोष: विगत ३४ वर्षमा २५ वटा सरकार बने। ५ वर्षसम्म एउटै प्रधानमन्त्री नपाउँदा मतदाता आजित भए र उनीहरूले नयाँ विकल्प रोजे।

३) सरकार नयाँ, प्रधानमन्त्री पुरानैको पीडा: सरकार परिवर्तन भए पनि प्रधानमन्त्रीको अनुहार नबदलिँदा नागरिकमा नेतृत्वप्रति ‘इरिटेसन’ र विकर्षण बढ्यो।

४) नीति र स्थितिमा बेथिति: संसदीय प्रणाली र सामाजिक न्यायका लागि कैयौँ नीति र कानुनहरू बनाउनुपर्नेमा कांग्रेस चुक्दा विकासको विश्वसनीय वातावरण बनेन।

५) निराशा भ्याङ्ग्रिन सुरु भएको मोड: २०७४ को निर्वाचनपछि बनेको झण्डै दुई तिहाइको सरकारले समृद्धिको अवसर गुमाउँदा नागरिकमा गहिरो निराशा पैदा भयो।

६) गठबन्धनले बढाएको आक्रोश: संविधान रक्षाका लागि गरिएको ‘गठबन्धन’ विस्तारै नागरिकमा अलोकप्रिय बन्यो, जसले पार्टी पङ्क्तिमा समेत असन्तुष्टि ल्यायो।

७) तीन किस्तामा प्रकट असन्तोष: स्थानीय चुनावमा स्वतन्त्रको विजय, नयाँ दलको संसद् प्रवेश र ‘जेनजी’ (नयाँ पुस्ता) को विद्रोहलाई समयमै बुझ्न सकिएन।

८) व्यवहारवादमा विरोधाभास: निर्वाचन अघि एउटा र पछि अर्कैसँग सत्ता गठबन्धन गर्दा नागरिकमा कांग्रेसप्रति चरम वितृष्णा पैदा भयो।

९) प्रतिपक्षी स्वर कमजोर बनाउनु: संसद्का दुई ठुला दल मिलेर सरकार बनाउँदा नागरिकका मुद्दा सडकमा पुगे, जसले गर्दा विपक्षी स्वर कमजोर भयो।

१०) गर्नुपर्ने नगर्ने, नगर्नुपर्ने गर्ने: संविधान संशोधन र संघीयता कार्यान्वयनमा ढिलाइ जस्ता ‘गर्नुपर्ने’ काम भएनन्, जसले दुष्परिणाम निम्त्यायो।

११) ‘कर्म गर्ने/प्रचार गर्न नसक्ने’ छवि: पार्टीले गरेका उपलब्धिहरूलाई डिजिटल युग अनुसार नयाँ पुस्तालाई बुझाउन नसक्नु गम्भीर कमजोरी रह्यो।

१२) बिपीको पत्रका कमजोरी स्मरण: बीपी कोइरालाले उति बेलै औँल्याएका व्यक्तिगत स्वार्थ र गुटबन्दीका कमजोरीहरू अझै पनि पार्टीमा हाबी हुनु।

१३) चरम गुटबन्दी र वितृष्णा: विचारभन्दा व्यक्ति केन्द्रित गुटबन्दीले गर्दा इमानदार सदस्यहरू पार्टीप्रति आजित हुनु।

१४) अति राजनीतिकरण र नकारात्मक छवि: विश्वविद्यालय, राजदूत र संवैधानिक निकायमा योग्यताभन्दा ‘भागबण्डा’ र राजनीतिक आस्थाका आधारमा नियुक्ति हुनु।

१५) ‘ग्रेसफुल एक्जिट’ नहुनु: पुराना नेताहरूले सम्मानजनक बहिर्गमनको बाटो नजहोज्दा नयाँ र भरोसायोग्य नेतृत्व जन्मिन सकेन।

१६) भ्रष्टाचारको जल्दोबल्दो मुद्दा: भुटानी शरणार्थीदेखि टेरामक्ससम्मका प्रकरणमा पार्टीका नेता मुछिनु र सुशासन कायम गर्न नसक्नु।

१७) प्रशासनिक ढिलासुस्ती: मल अभाव, किसानको भुक्तानीमा ढिलाइ र कर्मचारीतन्त्रको झन्झटले नागरिकमा सरकारप्रति आक्रोश बढ्यो।

१८) ३५ वर्षमा केही नभएको ‘भाष्य’: विपक्षीले फैलाएको “३५ वर्षमा देशमा केही भएन” भन्ने नकारात्मक प्रचारलाई तथ्यसहित चिर्न नसक्नु।

१९) श्रीलंका बन्ने त्रास: छिमेकी देश श्रीलंका जस्तै नेपालको अर्थतन्त्र पनि डुब्दैछ भन्ने त्रास र भ्रमलाई चिरेर आत्मविश्वास भर्न नसक्नु।

२०) ‘लोकप्रियतावाद’ (पपुलिज्म) नबुझ्नु: विश्वव्यापी रूपमा फैलिएको ‘पुरानो सबै खराब’ भन्ने लोकप्रियतावादी लहरलाई गम्भीरतापूर्वक नलिँदा कांग्रेसले ठुलो क्षति बेहोर्यो।

२१) ‘एल्गोरिदम’ को उपनिवेश: सामाजिक सञ्जालको एल्गोरिदमले मतदाताको दिमाग र निर्णय कब्जा गर्दा कांग्रेसले स्वतन्त्र विवेकको खुला मैदान बनाउन सकेन।

२२) निजी क्षेत्रको विकासमा योगदान तर आलोचना: कांग्रेसको नीतिले निजी क्षेत्र फस्टाए पनि त्यसको सही जस लिन र नागरिकलाई बुझाउन नसक्नु।

२३) वैदेशिक रोजगारीको मनोविज्ञान: वैदेशिक रोजगारीलाई ‘अपराध’ जस्तो गरी चित्रण गरिँदा त्यसको यथार्थ र बाध्यता बुझाउन नसक्नु।

२४) गैर आवासीय नेपाली: विदेशमा रहेका नेपालीहरूको भावना, उनीहरूको लगानी र मताधिकारको विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नसक्नु।

२५) परिवर्तनको सन्देश पुर्‍याउन नसक्नु: महाधिवेशनले ल्याएको नयाँ जोस र परिवर्तनको सन्देश मतदाताको मन-मस्तिष्कसम्म पुर्‍याउन समय पर्याप्त भएन।

२६) पुरानो साङ्गठनिक ढाँचा: बदलिएको समय र नवीन चुनौतीलाई सामना गर्न नसक्ने पुरानै शैलीको साङ्गठनिक संरचनामा पार्टी अल्झिरहनु।

२७) ‘साइलेन्स किल्ड’ र ‘स्याबोटेज’: पार्टीभित्रैका केही नेताहरूले चुनावमा मौन बसेर असहयोग गर्नु र अन्तर्घात (स्याबोटेज) गर्नु हारको अन्तिम साङ्गठनिक कारण रह्यो।

गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव

प्रतिवेदनको एक महत्वपूर्ण अंशका रूपमा महामन्त्री गगन थापाले चुनावमा अपेक्षित परिणाम नआएको भन्दै नैतिकताका आधारमा दिएको राजीनामाको विषय उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, “राजनीतिमा ‘हनिमुन पिरियड’ भनिने ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत हुँदैन। प्रतिकूलता चिरेर पार्टीलाई अनुकूलतामा पुर्‍याउने कमान्ड छोडेर पदत्याग गर्नु संगठनप्रति न्याय हुन्न।” नेतृत्वको सामूहिक जिम्मेवारी रहेको भन्दै प्रतिवेदनले थापालाई जिम्मेवारीमै रहेर पार्टी सुधारमा लाग्न आग्रह गरेको छ।

Skip This