
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका युवा नेताहरूले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । पेरिसडाँडामा आयोजित नेकपाका जनवर्गीय संगठहरूको बैठकमा युवा नेता तथा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले प्रचण्डको राजीनामा माग गरेका हुन् ।
नेकपाका पाँचवटा जनवर्गीय संगठनहरूको संयुक्त बैठकमा थापाले संयोजक दाहाललाई पार्टी राजनीतिबाट बिदा लिएर राष्ट्रिय अभिभावक बन्न सुझाव दिए ।
थापाले इतिहासमा ठूलो योगदान पुर्याएका नेताहरू सानो पार्टीको घेराभित्र सीमित हुन नहुने भन्दै दाहाललाई पार्टीभन्दा बाहिर बस्न आह्वान गरे । उनले भने, ‘उहाँहरूले इतिहासमा धेरै ठूलो योगदान गर्नुभएको छ, जसको मूल्यांकन नेपाली जनता र विश्व इतिहासले गर्नुपर्छ । यस्तो उच्च व्यक्तित्व भएका नेताहरू अब सानो पार्टीको नेता बनेर अल्झिनु हुँदैन, समग्र राष्ट्रको अभिभावक बन्नेतिर ध्यान केन्द्रित गर्नुपर्छ ।’
भर्खरै सम्पन्न निर्वाचनको परिणामलाई संकेत गर्दै थापाले वर्तमान नेतृत्व र कार्यशैलीलाई जनताले अस्वीकार गरेको बताए । ‘निर्वाचनको परिणामले अबको नेतृत्व र कार्यशैलीलाई स्वभाविक रूपमा रिजेक्ट (अस्वीकार) गरेको छ । यो तथ्यलाई पनि स्वीकार गर्दै जनमतको कदर गर्नुपर्छ । पार्टी त हामीजस्तो तेस्रो पुस्ताबाट चलिहाल्छ,’ उनले भने, ‘जनमतलाई कदर गर्ने सन्दर्भमा पनि अब शीर्ष नेताहरू अभिभावक बनेर बस्दा राम्रो हुन्छ । पार्टी भन्दा पनि समग्र देशकै लागि राम्रो हुन्छ ।’
थापाले अबको पार्टी सञ्चालनको जिम्मेवारी तेस्रो पुस्तालाई सुम्पिनुपर्नेमा जोड दिँदै महाधिवेशनको मिति घोषणा गरेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गर्न माग गरे । ‘पार्टी चलाउने कुरा अब तेस्रो पुस्ताले गर्छ, उहाँहरूको अनुभव र अभिभावकत्वको खाँचो राष्ट्रलाई छ,’ थापाले बैठकमा भने ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा १७ सिटमा खुम्चिएको छ । चुनावमा प्रचण्डबाहेक पार्टीका शीर्ष नेताहरू भारी मतान्तरले पराजित भएका थिए ।










प्रतिक्रिया