
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन हुन लागेको नयाँ संसदमा प्रतिनिधित्व गर्ने ६ दलका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेको छ।
सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलका कार्यालय व्यवस्थापन, त्यहाँ आवश्यक कर्मचारी, सेवा–सुविधा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । उक्त बैठक आज दिउँसो २ बजे बस्ने तय गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा र राष्ट्रिय सभाका लागि तयार भइरहेको नयाँ बैठकस्थलको भौतिक अवस्था, निर्माणाधीन संरचनाका कारण केही समय देखिन सक्ने असुविधाबारे जानकारी दिन पनि प्रतिनिधिहरूलाई बोलाइएको हो ।
निर्वाचन परिणामअनुसार राष्ट्रिय श्रम संस्कृति पार्टीबाहेक अन्य पाँच पुरानै राजनीतिक दल संसदमा पुनः उपस्थित हुने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले हाल प्रयोग गर्दै आएका संसदीय दलका कार्यालय यथावत रहनेछन् ।
तर, नयाँ संसदमा ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि हालको कार्यालय साँघुरो हुने देखिएकाले नयाँ व्यवस्थापनबारे छलफल हुनेछ । सचिवालय स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रयोग गर्दै आएको कार्यालय रास्वपालाई दिने र रास्वपाले हाल प्रयोग गरिरहेको स्थान नेकपालाई उपलब्ध गराउने प्रस्ताव तयारीमा छ ।
यद्यपि, उक्त प्रस्तावबारे सम्बन्धित दलहरूसँग औपचारिक छलफल भने भइसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने पुरानै कार्यालय प्रयोग गर्नेछ ।
नयाँ संसदमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीको उपस्थिति नहुने भएकाले ती दलहरूले प्रयोग गरेका कार्यालयमध्ये कुनै एक कार्यालय अन्य आवश्यकताअनुसार व्यवस्थापन गर्ने तयारी सचिवालयले गरेको छ ।









प्रतिक्रिया