भारतमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु


एजेन्सी । भारतको इन्दोरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । घटना बंगाली स्क्वायर नजिकैको बृजेश्वरी कोलोनीमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पुगालिया परिवारको घरबाहिर चार्जमा राखिएको विद्युतीय कारमा बिहान करिब ४ बजे सर्ट सर्किट भइ आगलागी हुँदा कारमा आगो लागेपछि त्यसको ज्वाला छिट्टै घरमा फैलिएको थियो ।

घरभित्र राखिएका धेरै ग्यास सिलिन्डर एकपछि अर्को गर्दै विस्फोट हुँदा ठूलो आवाजका धमाका भएका थिए, जसले आसपास क्षेत्र नै हल्लिएको थियो । घरको एक भाग समेत भत्किँदा भित्र रहेका मानिसहरू फसेका थिए ।

प्रहरी आयुक्त सन्तोष कुमार सिंहका अनुसार उक्त घर मनोज पुगालियाको हो । जसले पोलिमर व्यवसाय सञ्चालन गर्दै आएका थिए । घरमा केही ज्वलनशील रसायनहरू पनि राखिएका थिए, जसले आगोलाई अझ तीव्र बनाएको प्रहरीले जनाएको छ ।

‘बिहान करिब ४ बजे तिलक नगर नजिकको बृजेश्वरी एन्क्लेव क्षेत्रमा आगलागी भएको जानकारी हामीले पायौँ । हाम्रो रेस्पोन्स टोलीहरू दमकलसँगै तुरुन्तै घटनास्थलमा पुगे दमकल र पानीका होज (पाइप) प्रयोग गर्दै हामीले एक–एक तलामा आगो नियन्त्रणमा लियौँ,’उनले भनेका छन् ।

प्रारम्भिक अनुसन्धानले विद्युतीय सवारी चार्ज गर्ने स्थानमा भएको विस्फोटपछि आगलागी सुरु भई कारबाट घरमा फैलिएको देखाएको छ । घरभित्र रहेका १० भन्दा बढी ग्यास सिलिन्डर र ज्वलनशील रसायनले अवस्था झन् भयावह बनाएको थियो ।

प्रहरीले घरमा इलेक्ट्रोनिक डोर लक जडान गरिएको पनि फेला पारेको छ । आगलागीका क्रममा विद्युत आपूर्ति बन्द भएपछि ती लकहरू नखुल्दा मानिसहरू भित्रै थुनिएका थिए । उद्धार टोलीले ढोका फुटाएर भित्र प्रवेश गर्नुपरेको थियो।

दमकल टोली घटनास्थलमा पुगेर लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। दुर्घटनाका बेला घरमा आफन्तहरू समेत उपस्थित थिए ।

राज्य मन्त्री कैलाश विजयवर्गीयले उक्त घटनालाई अत्यन्त दुःखद र चिन्ताजनक बताएका छन्। उनले भविष्यमा यस्ता घटना रोक्न विशेषज्ञ समिति गठन गरी उचित सुरक्षा मापदण्ड तयार गर्नुपर्ने बताएका छन्।