प्रभु बैंकका कर्पोरेट विभाग प्रमुख दिनेश डंगोल पक्राउ

0
Shares

काठमाडौं । प्रहरीले प्रभु बैंकका ‘कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स’ विभागका प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसूरको आरोपमा डंगोललाई पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार यसअघि नै अनुसन्धानको प्रक्रियामा रहेका अशोक शेरचन समेत जोडिएको बैंकिङ कसूर मुद्दाको सिलसिलामा डंगोललाई पक्राउ गरिएको हो । ललितपुर महानगरपालिका वडा नं. २७ (साविक सुनाकोठी) स्थायी घर भएका ५० वर्षीय डंगोललाई ब्यूरोको विशेष टोलीले काठमाडौंको थापाथलीबाट नियन्त्रणमा लिएको हो ।

डंगोलमाथि प्रभु बैंक लिमिटेडबाट ‘प्रभु म्यानेजमेन्ट प्रा.लि.’ मा प्रवाह भएको कर्जाको दुरुपयोग गरेको र नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरेको आरोप लागेको छ । सीआईबीले संकलन गरेका तथ्य प्रमाण र विज्ञ टोलीको अध्ययन विश्लेषणबाट उनले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको देखिएपछि पक्राउ गरिएको जनाएको छ ।

सीआईबी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट पक्राउ पुर्जी अनुमति लिएर उनलाई मिति २०८१/१२/०२ गते पक्राउ गरिएको हो । पक्राउ परेका डंगोललाई उच्च अदालत पाटनबाट म्याद थप गरी हाल हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।