रवि लामिछानेको रिट मंगलबार पनि ‘हेर्दाहेर्दै’ मा, अब बिहीबार सुनुवाइ

91
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीबार आफ्नो बहस सकिएपछि आदेश आउने बताए । अदालतले निर्णय सुनाउन अर्को मिति नतोकेको खण्डमा बिहीबार नै फैसला आउने सम्भावना रहेको त्रिपाठीको भनाइ छ ।

उनले भने, ‘भोलि सार्वजनिक बिदा छ, पर्सी फेरि बेन्च बस्छ । अरु सबै बहस सकिसकेको छ । मेरो एक जनाको जवाफी बहसमात्रै बाँकी छ । अन्तिम फैसला समेत पर्सी आउने सम्भावना छ । म निवेदक हो, मेरो मात्र जवाफी बहस बाँकी छ । बहस सकिएपछि फैसला त आउँछ । त्यसैले सर्वोच्चले पर्सी नै आफ्नो फैसला सुनाउँछ भन्ने आशा गरौं । कहिलेकाँही सर्वोच्च अदालतले निर्णय सुनाउने भनेर अर्को मिति पनि तोक्न सक्छ । त्यो चाहीँ अदालतको कुरा हो ।’

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले सभापति लामिछानेमाथि लागेको सम्पती शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । युवराज पौडेल सफल, अधिवक्ता आभाष रेग्मीसहित कानूनका विद्यार्थीहरू र वरिष्ठ अधिवक्ता त्रिपाठीले यो निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।