हिरोइनले ‘रेड कार्पेट’ मा प्लास्टिकको झोला बोकेपछि चर्चा: मूल्य साढे २ लाखभन्दा बढी

315
Shares

काठमाडौं । सरसामग्री वा फोहोर फाल्ने झोला जस्तो देखिने यो प्लास्टिकको ब्यागको मूल्य १,७९० अमेरिकी डलर (करीब २ लाख ६४ हजार नेपाली रुपैयाँ) तोकिएको छ।

चिनियाँ अभिनेत्री झाङ जिङयीले यस झोलालाई बोकेर बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभलको रेड कार्पेटमा पुगेपछि यो चर्चा बटुल्न थालेको हो । आकर्षक पहिरनमा देखिएकी उनले हातमा सामान्य देखिने पहेंलो प्लास्टिक झोला बोकेकी थिइन् ।

यद्यपि, झोला सामान्य देखिए पनि यसको मूल्य अत्यधिक महँगो रहेको छ । अनलाइन खोजी गर्दा यसको नाम ‘ट्र्यास ब्याग लार्ज पाउच’ रहेको पत्ता लागेको छ।

सामान्य फोहोर फाल्ने झोलासँग मिल्दोजुल्दो देखिने यो ब्यागले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ। यसलाई पहिलो पटक पेरिस फेसन विकको विन्टर कलेक्सनमा प्रदर्शन गरिएको थियो । यो विश्व प्रसिद्ध फेसन ब्रान्ड बालेन्सियागाको नयाँ उत्पादन हो।

झाङ जिङयीले यसलाई रेड कार्पेटमा बोकेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ । यसबारे आलोचना र प्रशंसा दुवै भइरहेको छ। केही प्रयोगकर्ताले यसलाई ‘विश्वकै महँगो फोहोरको झोला’को संज्ञा समेत दिएका छन्।

सामान्य व्यक्तिको महिनौंको तलब बराबरको यो झोलाले विलासी फेसन उद्योगको अनौठो पक्षलाई पुनः उजागर गरेको छ। फेसन विश्लेषकका अनुसार बालेन्सियागा ब्रान्डले सधैं यस्तै ‘विवादास्पद’ रणनीति अपनाउने गर्दछ – सामान्य वस्तुलाई विलासी रूपमा प्रस्तुत गर्ने। यसअघि पनि यस ब्रान्डले ‘पुरानो र फाटेको जुत्ता’ महँगो मूल्यमा बेचेर चर्चा बटुलेको थियो।