
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वित्तीय क्षेत्रका नियामक निकाय प्रमुखसँग भेट गरेका छन् । चुनावी सरकारबाट विदा हुने तयारीमा रहेका खनाललले साेमबार अर्थ मन्त्रालयमा बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट गरेका छन । उनले अर्थ मन्त्रालयमा गरेकाे भेटवार्तामा देशको समग्र आर्थिक अवस्था र वित्तीय क्षेत्रको सुधारका विषयमा छलफल गरे ।
अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालको समेतको उपस्थिति भएको उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई बोलाइएको थियो । अर्थमन्त्रीसँग तीनै निकायका प्रमुखले भेट गरेका छन् ।
छलफलका क्रममा अर्थमन्त्री खनालले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न नियामक निकायहरूले निर्वाह गरेको भूमिका सन्तोषजनक भएको बताए । उनले लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई थप पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन कायम गराउन नियामक निकायहरूले पुऱ्याएको योगदानप्रति हार्दिक धन्यवाद दिए ।
नियामक निकायका प्रमुखहरूले अर्थ मन्त्रालयसँगको सहकार्य फलदायी भएको तर्क गरे । उनीहरुले नेपालको बैंक तथा वित्तीय क्षेत्रको योजनाबद्ध विकास र वित्तीय अनुशासन कायम गराउन सहयोगी भूमिका खेलेकाे बताए ।
उनले अर्थ मन्त्रालयले अवलम्बन गरेका नीतिगत व्यवस्था र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे। यो भेटघाटले सरकार र नियामक निकायहरूबीचको समन्वयलाई थप मजबुत बनाएकाे अर्थ मन्त्रालयको भनाइ छ ।







प्रतिक्रिया