२२ करोड हिनामिनाका दोषी ठहर नेपाल सेयर मार्केट्सका तत्कालीन अध्यक्ष श्रेष्ठ पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट करोडौंको जरिबाना र कैद सजाय सुनाइएका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार काठमाडौंको सितापाईलाबाट नियन्त्रणमा लिएको हो ।

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा रहँदा श्रेष्ठले निक्षेपकर्ता र संस्थाको हित विपरीत हुने गरी अनियमित एवं गैरकानुनी कार्य गरेको भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा भएको अनुसन्धानपछि सर्वोच्च अदालतले गत २०८१ भदौ ५ गते उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।

अदालतले श्रेष्ठलाई दुई वटा छुट्टाछुट्टै मुद्दामा सजाय सुनाएको छ । पहिलो मुद्दामा १९ करोड ४६ लाख १ हजार ६ सय ६२ रुपैयाँ ३९ पैसा जरिबाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६ सय ८१ रुपैयाँ ५१ पैसा जरिबाना र ३ वर्ष कैदको फैसला भएको थियो । दुवै मुद्दा गरी उनलाई कुल २२ करोड ६७ लाख ४१ हजार ३ सय ४३ रुपैयाँ ९ पैसा जरिबाना र ६ वर्ष कैद सजाय ठहर भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २४ वटु स्थायी घर भई हाल नागर्जुन नगरपालिका-५ सितापाईला बस्दै आएका ६९ वर्षीय श्रेष्ठ सजाय सुनाइए लगतै फरार रहेका थिए । उनलाई आइतबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।